Online Bichar
बुधबार, आषाढ ०३, २०८३ | Wednesday, June 17, 2026

झापा, ३ असार २०८३ । जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको स्विप अपरेशनका क्रममा लागूऔषध सेवनकर्ता तथा कारोबारी गरी ९२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकरभिट्टा तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले असार १ र २ गते जिल्लाका विभिन्न स्थानमा स्विप अपरेशन सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार अपरेशनका क्रममा शंकास्पद अवस्थामा हिडडुल गर्ने लागूऔषध सेवनकर्ता ७९ पुरुष र ४ महिला गरी ८३ जनालाई नियन्त्रणमा लिइएको छ। यस्तै, ९ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३८ ग्राम ९९० मिलिग्राम र गाँजा ३ ग्राम ९०० मिलिग्राम बरामद गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिइएकामध्ये केही व्यक्तिको साथबाट विभिन्न परिमाणमा ब्राउन सुगर र गाँजा बरामद गरेको जनाएको छ। दमक, बिर्तामोड, शिवसताक्षी, भद्रपुर र मेचीनगर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो।

लागूऔषधसहित पक्राउ पर्नेहरुमा दमक नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय बिकास भुजेल र भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीया सरिता राजबंशीको साथबाट प्लाष्टिकबाहेक ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यस्तै बिर्तामोड नगरपालिका वडा न. ६ बस्ने १८ वर्षीय देवेन्द्र बि.क.को साथबाट प्लाष्टिकबाहेक १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर , बिर्तामोड नगरपालिका वडा न. ३ घर भई हाल वडा नं.४ मा डेरा गरी बस्ने ३९ वर्षीय गणेशप्रसाद ओलीको साथबाट प्लाष्टिकबाहेक ३०० मिलिग्राम ब्राउन सुगर, बिर्तामोड नगरपालिका वडा न.४ बस्ने २६ वर्षीय चाल्स लिम्बू र वडा न.३ बस्ने ३० वर्षीय उमेश राजबंशीको साथबाट ३ ग्राम ९०० मिलिग्राम गाँजा , शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगी बस्ने एलेक्स भन्ने सुरज ढकालको घर कोठामा खानतलासी गर्दा प्लाष्टिकबाहेक २० ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र चितवन भरतपुर महानगरपालिका वडा नं. १४ वस्ने २४ वर्षीया सोनी खाती र मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा वस्ने ६० वर्षीया सिता राजवंशीको साथबाट प्लाष्टिकबाहेक १० ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। साथै लागूऔषध सेवनकर्तालाई मनोपरामर्श सेवा उपलब्ध गराई आवश्यकताअनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया