झापा, ३ असार २०८३ । झापाको गौरादहमा टिफरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। गौरादह नगरपालिका–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईंको टिफरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार (हिँजो) राति करिब ८ः२० बजे गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुगी–गौरीगञ्ज भित्री सडकखण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिफरले साइकलयात्री गुरागाईंलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईंको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई उपचारका लागि तत्काल दमक अस्पताल पठाइएकोमा उपचारकै क्रममा राति ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न टिफर र चालक गौरादह नगरपालिका–१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






