Online Bichar
बुधबार, आषाढ ०३, २०८३ | Wednesday, June 17, 2026

झापा, ३ असार २०८३ । भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा ४५ दिनदेखि लगाएको अवरोध हटाउन कुनै पक्षबाट पनि पहल नभएको भन्दैं भोली विहीबारदेखि झापाका चिया उद्योग र बगानहरू बन्द हुने भएका छन् ।

नेपाल चिया उत्पादक संघले आज झापाको भद्रपुरमा पत्रकार सम्मेलन गरी बाध्य भएर चिया उद्योग र बगानहरु बन्द गर्नुपरेको जनाएको छ । संघका अनुसार झापामा साना–ठूला गरी ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगान छन् । यो समस्या समयमै हल हुन सक्दा यसअघि इलामका ५३ भन्दा बढी अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भइसकेका छन् ।

भारतीय चिया बोर्डले मे १ तारीखदेखि लागू गरेको मापदण्डमा प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि डेढ महिना अघिदेखि व्यवसायीहरु यसको समाधानका लागि सम्बन्धित निकायको ढोकासम्म पुगेका छन् । व्यवसायी र उद्योगीका अनुसार यो व्यवस्था अव्यवहारिक छ । नेपाली चियाको निर्यात अवरुद्ध हुँदा चिया किसान, त्यसमा कार्यरत श्रमिक र उद्योग सवै प्रभावित भएका छन् । बजारमा पुगिसकेको चिया समेत विक्री गर्न नपाउने अवस्था सिर्जना भएका कारण बाध्य भएर आफूहरु उद्योग र बगान बन्द गर्ने अवस्थामा पुगेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले पत्रकार सम्मेलनमा बताए । ‘नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोवार करीव १२ देखि १४ अर्बसम्म भइरहेको छ’ अध्यक्ष पराजुलीले भने ,‘करीव पाँच अर्ब बराबरको चिया भारत निकासी भएर विदेशी मुद्रा नेपाली भित्रिरहेको छ । ’

भारतपछि बंगलादेशमा समेत नेपाली चियाको माग भएपनि बंगलादेशले नेपालमा उत्पादन भएको चियामा भन्सार छुट नदिँदा उता निर्यात गर्न नसकिएको उद्योगीहरुको भनाई छ । भारतले भने चियामा ५ प्रतिशत मात्र वस्तु तथा सेवाको शुल्क ९गुड्स एन्ड सर्भिस ट्याक्स० लगाउँछ । चियाको करमा भने छुट दिएको छ । महँगो भन्सार शुल्ककै कारण बंगलादेशमा चिया निर्यात गर्न नसकिएको हो ।

भारतीय चिया बार्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा झन् ठूलो समस्या खडा भएको अध्यक्ष पराजुलीको भनाई छ । भारतले ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’का नाममा नेपाली चिया निर्यातमा ‘अघोषित नाकाबन्दी’ गरेको चिया उद्योगीहरुको भनाई छ । इलामपछि झापाका उद्योग र बगानसमेत बन्द हुन थालेसँगै नेपाली चिया क्षेत्रको संकटमा पर्ने उद्योगीहरुको भनाई छ ।‘ झण्डै डेढ महिनादेखि हामीले यो समस्याका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गरायौँ, परराष्ट्रदेखि, कृषि मन्त्रालयलगायत सबै निकायमा ज्ञापनपत्र बुझायौं । तर सरकारले गम्भीर चासो देखाएन,’ अध्यक्ष पराजुलीले भने, ‘अन्त्यमा हामीहरु नसकेर उद्योग र बगान बन्द गर्ने घोषणा गर्न बाध्य भयौँ ।’ चिया उद्योगीहरुको टोली पटक पटक प्रधानमन्त्रीलाई भेट्न पुगे पनि भेट्न नपाएको गुनासो उनीहरुको छ । सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो उनीहरुको छ ।

अध्यक्ष पराजुलीले विगतमा यस्ता समस्या देखिँदा सरकारको ध्यानाकर्षणपछि समाधान खोजिने गरेपनि अहिले सम्बन्धित निकायसम्म आफ्नो कुरा पुर्‍याउन समेत कठिन भएको भन्दैं दुःख व्यक्त गरे । पत्रकार सम्मेलनमा बोल्दैं अध्यक्ष पराजुलीले भने,‘पहिले त सरकारलाई जानकारी गराएपछि दुई–चार दिनमै समस्या समाधानतर्फ पहल हुन्थ्यो, अहिलेको सरकारलाई न त कुरा राख्न पाईयो, नत भेट्नै गाह्रो भयो ।’ व्यवसायीहरूले तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारतीय अवरोध हटाउन प्रयास गर्नुपर्ने बताए । गुणस्तरका हिसावले नेपालको चिया उच्चकोटीको रहेको बताइएको छ । विभिन्न प्रकारका गुणस्तर जाँच, जोखिमपूर्ण अपारदर्शी, नतिजा तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरुका कारण नेपालबाट चिया सहजरुपमा निर्यात हुन नसकिरहेको पत्रकार सम्मेलनमा बताइएको छ ।‘ नेपाली चिया मिसाएर दार्जिलिङ ब्राण्डमा बिक्री गर्ने उताका व्यवसायीहरु अनि नेपाली चियामाथि नै शंका गर्ने रु’ अध्यक्ष पराजुलीले आक्रोश व्यक्त गदैंँ भने,‘यो नेपाली चियाको बजार कमजोर बनाउने सुनियोजित प्रयास हो । परीक्षणका नाममा नेपाली चिया उद्योगी र व्यवसायीहरुलाई दुःख दिने काम मात्र हो ।’

नेपाल र भारत सरकार दुवैतर्फबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्ने निर्णय लिनुपरेको अध्यक्ष पराजुलीले पटक पटक दोहोर्याए । भारतीय चिया बोर्डले लागू गरेको‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिजर’ नयाँ गुणस्तर परीक्षण प्रक्रियालाई व्यवसायीहरूले गैरभन्सार अवरोधको रूपमा व्याख्या गरेका छन् । पराजुलीले गुणस्तरको बहाना बनाएर भारतले पटक–पटक नेपाली चियामाथि अवरोध सिर्जना गर्ने प्रयास गर्दा पनि नेपाल सरकार चुप लागेकोमा दुःख व्यक्त गरे ।अध्यक्ष पराजुलीले आज नै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आफुहरुलाई संवादका लागि बोलाएको त्यसतर्फ जाने बताउँदैं भारतले लगाएको अवरोध नहटेसम्म बन्द कार्यक्रम जारी रहने स्पष्ट पारे ।

चिया व्यवसायी सागर घिमिरेका अनुसार झापा नेपालको सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र हो । यहाँ अर्थोडक्स र सीटीसी गरी वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गर्छ । कुल उत्पादनमध्ये पाँच अर्ब रुपैयाँभन्दा बढीको चिया भारत निर्यात हुने व्यवसायीहरूको तथ्यांक रहेको घिमिरेले बताए ।

उनका अनुसार भारतीय अवरोधका कारण निर्यात रोकिँदा उद्योगमा उत्पादित चिया थन्किएको, नगद प्रवाह प्रभावित भएको र किसानलाई हरियो चियापत्तीको भुक्तानी दिन समेत कठिन अवस्था सिर्जना भएको छ ।
चिया क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारीलाई रोजगार प्रदान गरेको, हजारौं किसान आश्रित रहेको र चिया उद्योगहरुले वार्षिक विभिन्न शीर्षकमा करिब एक अर्ब रुपैयाँ राजस्वसमेत सरकारलाई बुझाउने गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पराजुलीको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव शुक्र दाहालले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले धन्यवाद ज्ञापन गरेका थिए । यसैबीच संघले आजै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत नेपाल सरकारलाई यो समस्या समाधानको पहलका लागि ज्ञापनपत्र बुझाएको छ ।प्रतिदिनबाट

 

तपाईको प्रतिक्रिया