Online Bichar
सोमबार, जेठ २५, २०८३ | Monday, June 8, 2026

काठमाडौँ, २४ जेठ २०८३ । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ झापाले वि.सं. २०८२ (सन् २०२५) का लागि प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रियरअन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ र ‘रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ प्राप्त गर्ने व्यक्तित्व तथा संस्थाहरूको नाम सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अनुसार आगामी २०८३ जेठ ३० गते काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने विशेष समारोहमा वितरण हुने पुरस्कारमा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रियरअन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ (राशि रु.५,००,०००) शिक्षाविद् प्राध्यापक डा.सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार प्राप्त गर्न लागेका प्रा.डा. शर्माले नेपालको उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा पाँच दशकभन्दा बढी समय योगदान दिएका छन् । उनी काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् ।

त्यसैगरी प्रविधि, अनुसन्धान र नवप्रवर्तनको माध्यमबाट देशको आर्थिक विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेबापत डा.महावीर पुनको नेतृत्वमा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा सोही पुरस्कारबाट सम्मानित गर्न लागिएको हो ।

यस्तै, रु.१,०१,१११ ९एक लाख, एक हजार, एक सय,एघार रुपैयाँ० राशिको ‘रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ एग्रो मनाङ प्रा.लि. र वरिष्ठ बागवानी विज्ञ चुटराज गुरुङलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ । मनाङको दुर्गम क्षेत्रमा पहिलो पटक ठुलो क्षेत्रफलमा आधुनिक प्रविधिमार्फत उच्च घनत्वको स्याउ खेती सुरु गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुर्याएबापत एग्रो मनाङलाई सम्मानित गर्न लागिएको हो ।

त्यस्तै, नेपाल सरकारको सेवामा रहँदा र सेवा निवृत्त भएपछि पनि बागवानी क्षेत्रको अनुसन्धान, हिमाली क्षेत्रमा स्याउ खेती विस्तार र २ हजारभन्दा बढी कृषक तथा प्राविधिकहरूलाई व्यावहारिक तालिम प्रदान गरी मुलुकको कृषि क्षेत्रमा पुर्‍याएको योगदानका लागि कृषि विज्ञ चुटराज गुरुङलाई यो पुरस्कार प्रदान गर्न लागिएको हो ।

स्व. श्रीप्रसाद ओलीले वि.स. २०६७ सालमा स्थापना गरेको एक करोड रुपैयाँको अक्षयकोषबाट सञ्चालित यस प्रतिष्ठानले स्थापना कालदेखि नै सामाजिक, शैक्षिक र सेवामूलक कार्यहरू गर्दै आएको छ ।

प्रतिष्ठानले विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहित गर्न हरेक वर्ष विभिन्न विधागत पुरस्कारहरू प्रदान गर्दै आएको छ । हालसम्म प्रतिष्ठानबाट विभिन्न विधाका पुरस्कारहरूबाट ४४ जना व्यक्ति तथा संस्थाहरू सम्मानित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया