झापा, १२ जेठ २०८३ । झापामा सोमबार (हिँजो) राति वर्षासँगै आएको भीषण हावाहुरी र चट्याङका कारण जिल्लाका विभिन्न स्थानमा घर, कुखुरा फार्म, उद्योग, विद्युत संरचना तथा सवारीसाधनमा ठूलो क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा मानवीय तथा पशुचौपाया क्षति नभए पनि ठूलो आर्थिक नोक्सानी भएको जनाइएको छ।
गौरादह नगरपालिका क्षेत्र
गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालको पक्की पिलर, टिनको छाना, काठको प्लाई र तारजालीले बनेको कुखुरा फार्म पूर्ण रूपमा क्षति भएको छ। फार्मभित्र रहेका २५ वटा ब्रोइलर कुखुरा मरेका छन्। करिब रु। २ लाख बराबरको क्षति भएको छ।
त्यसैगरी गौरादह–६ सगरमाथा टोलका श्यामलाल बैसरा को ३ कोठे एकतले घरको छानो उड्दा करिब रु. ७० हजार बराबरको क्षति भएको छ।
गौरादह–६ निर्मला चोकमा बस्ने हुकुम सिंह राई को टिनको छाना भएको बाँसको टासी बेराले बनेको २ कोठे एकतले घरको छानो हावाहुरीले उडाई क्षति पुर्याएको छ, करिब रु. ६० हजार बराबरको क्षति भएको छ।
गौरादह–६ आरतीनगरका मानबहादुर पराजुली को भान्सा घरको छानो उड्नुका साथै घरभित्र राखिएको २० मन धान र २० मन मकै पानीले भिजेर करिब रु। ८० हजार बराबरको क्षति भएको छ।
गौरादह–८ बैराती टोलका इन्द्रमणी प्रसाईँ को दुईवटा घरमा चट्याङ लागेर आगलागी हुँदा टिभी, फ्रिज, पंखा, सोलार, बल्ब, विद्युत तार तथा अन्य सामग्री क्षति भई करिब रु. १ लाख ३६ हजार ५०० बराबरको नोक्सानी भएको छ।
हल्दीबारी गाउँपालिका क्षेत्र
हल्दीबारी–२ का चरण बास्के , फुलकुमारी केरुङ र सुदला राजवंशीका घरहरूको छाना हावाहुरीले उडाएको छ। तीनै जनाको कुल करिब रु. ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
बाह्रदशी गाउँपालिका क्षेत्र
बाह्रदशी गाउँपालिका–५ मागु गाउँ का पृथ्वीलाल राजवंशी को टिनको छाना भएको एकतले घरको छानो हावाहुरीले पूर्ण रूपमा उडाएको छ। करिब रु. १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिर्तामोड आसपास
बिर्तामोड–३ खुकुरीचोकका रोहित खड्का को घरमा पिपलको रुख ढल्दा आंशिक क्षति भएको छ।
बिर्तामोड–८ त्रिवेणीचोक र आसपासका क्षेत्रमा २ वटा बिजुली पोल ढलेर सडक अवरुद्ध भएको छ।
बिर्तामोड–५ मा पृथ्वीलाल राजवंशी को घरको छानो उड्दा करिब रु. १ लाख ५० हजार बराबरको क्षति भएको छ।
बिर्तामोड–४ परोपकार टोलमा रविन कुमार शर्मा को चाइनिज प्लान्ट रुख ढलेर सडक अवरुद्ध भएको थियो, जुन पछि हटाइएको छ।
बिर्तामोड–६ स्यालडाँगी क्षेत्रमा ४ वटा बिजुली पोल ढलेको प्रहरीले जनाएको छ।
मेचीनगर र दमक क्षेत्र
मेचीनगर–१५ गाइनाबारीमा किशोर क्षेत्री ले सञ्चालन गरेको जय माँ कामाक्ष इण्डस्ट्रिज प्रा.लि. (प्लाई उद्योग) को गोदाम र मेस भवनको जस्ताको छाना उड्दा करिब रु. ३ लाख बराबरको क्षति भएको छ।
दमक–१० मा रहेको गरिमा इँटा भट्टाको भवनको छाना उडेर क्षति भएको छ।
मेचीनगर–इटाभट्टा क्षेत्र
इटाभट्टास्थित सूर्यदय कम्पनीको पार्किङ स्थलको भवनको छाना उडेर सोही स्थानमा राखिएका बस नम्बर मे १ ख २५२६ र मे १ क २७९३ का अगाडिका सिसा फुटेका छन्।






