Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

काठमाडौं, १२ जेठ २०८३ । भन्सार विभागले भन्सार मूल्यांकन डाटाबेस प्रणालीमा अन्तर्राष्ट्रिय बजार मूल्य समेत हेर्न मिल्ने गरी विकास गरिएको नयाँ प्रणालीको औपचारिक सुरुआत गरेको छ । यसबाट पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारण गर्न भन्सार प्रशासनलाई प्रत्यक्ष सहयोग पुग्ने विभागले जनाएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणाली सुरु भएको घोषणा गरे । यो नयाँ प्रणालीको कार्यान्वयनसँगै अन्तर्राष्ट्रिय व्यापारमा थप सहजीकरण हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले यो प्रणालीले भन्सार मूल्यांकन प्रक्रियालाई थप पारदर्शी र यथार्थपरक बनाउने विश्वास व्यक्त गरे ।

विभागले ०८२ असोज ८ गते विराटनगर भन्सार कार्यालयबाट यसको सुरुआत गरिसकेको थियो । ०८२ पुस १८ गतेदेखि आशिकुडा प्रणाली कार्यान्वयनमा रहेका मुलुकभरका सबै भन्सार कार्यालयमा यसलाई लागु गरिएको थियो ।

यो प्रणालीको पूर्ण कार्यान्वयनले नेपालको भन्सार प्रशासनलाई विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को मूल्यांकनसम्बन्धी सम्झौतालाई पालना र वस्तुको सही कारोबार मूल्य निर्धारण गर्न मद्दत पुग्ने भन्सार विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया