काठमाडौं, १२ जेठ २०८३ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।
प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे ।
त्यसपछि सभामुखले बोल्न समय दिए । त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताए ।
नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान, कानुन मानेर अगाडि बढ्नुपर्ने आग्रह गरे । प्रधानमन्त्री केहीबेर मार्त्र भएपनि संसद्मा आएर रोष्ट्रममा उभिएर बोल्नुपर्ने उनको आग्रह छ ।
श्रम संस्कृति पार्टीका आरेन राइले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताए । आगामी पुस्तालाई के सन्देश दिने भनेर सबैले ख्याल गर्नुपर्ने उनको आग्रह छ ।
संख्याको दम्भ हो भने त्यो स्थायी नरहने ख्याल गर्न उनको आग्रह छ । पाँच वर्षपछि फेरि चुनाव भएर अर्को समीकरण बन्ने उनले बताए ।
‘जुन दिन सम्म प्रधानमन्त्री संसुद्मा आएर सांसद्का प्रश्नको जवाफ दिन तयार हुनुहुन्न त्यस दिनसम्म हाम्रो विरोध हुन्छ’ उनले भने ।
राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको उपस्थितिको लागि सत्तारुढ दलले पनि पहल लिनुपर्ने आग्रह गरिन् । ‘जनप्रतिनिधिसँग किन संवाद गर्न चाहनुहुन्न रु’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।






