Online Bichar
आइतबार, जेठ १०, २०८३ | Sunday, May 24, 2026

काठमाडौं, ९ जेठ २०८३ । भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि बढेको छ । दिल्लीमा पेट्रोल प्रतिलिटर ८७ पैसा महँगिएर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर ९१ पैसा बढेर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ ।

भारतीय मिडियाहरुका अनुसार इन्धनको मूल्य ९ दिनभित्र तेस्रो पटक बढाइएको हो । यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो । त्यसअघि मे १५ मा पनि प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको थियो ।

नेपालमा पनि पर्न सक्छ प्रभाव

नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेललगायत इन्धन खरिद गर्छ । त्यसैले भारतमा इन्धनको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ ।

नेपाल आयल निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘भारतबाट नयाँ खरिद मूल्यसूची (प्राइस लिस्ट) उच्च दरमा आएमा नेपाल आयल निगमको लागत बढ्छ । त्यसपछि हामीले हाम्रो अवस्था हेरेर आन्तरिक बजारमा पनि पेट्रोल र डिजेलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्छ ।’ तर अहिले नै मूल्य घटबढ हुनेबारे भन्न नसकिने उनले बताए ।

नेपाल आयल निगम सञ्चालक समितिले अन्तर्राष्ट्रिय बजारको अवस्था हेरेर स्वचालित प्रणाली अनुसार १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहेमा नेपालमा इन्धनको मूल्यमा दबाब बढ्न सक्ने देखिन्छ । यसैलाई मध्यनजर गर्दै इन्धनको खपत कम होस् भन्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ ।

भारतमा किन बढ्यो पेट्रोल–डिजेलको मूल्य ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको उतारचढाव यस वृद्धिको मुख्य कारण हो । इरान र अमेरिकाबीच युद्ध सुरु हुनुअघि कच्चा तेलको मूल्य प्रतिबारेल ७० डलर थियो । अहिले त्यो बढेर १०० डलर प्रतिबारेलभन्दा माथि पुगेको छ ।

कच्चा तेल महँगिएसँगै तेल कम्पनीहरू आर्थिक दबाबमा परेका थिए । त्यसैले घाटा पूर्ति गर्न मूल्य बढाइएको बताइएको छ । यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रह्यो भने पेट्रोल र डिजेलको मूल्य थप बढ्न सक्ने सम्भावना छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको अवस्थाका आधारमा इन्धनको मूल्य निर्धारण गरिन्छ । सरकारी तेल कम्पनीहरूले ‘डेली प्राइस रिभिजन’ अर्थात् ‘डाइनामिक प्राइसिङ सिस्टम’ अनुसार हरेक दिन बिहान ६ बजे नयाँ मूल्य सार्वजनिक गर्छन् ।

उपभोक्तासम्म पुग्नुअघि इन्धनको मूल्यमा विभिन्न कर र खर्च थपिन्छन्, जसका कारण अन्तिम मूल्य आधार मूल्यभन्दा धेरै माथि पुग्ने गर्छ ।

सन् २०२४ यता मूल्य स्थिर थियो

भारतमा पेट्रोल र डिजेलको मूल्य मार्च २०२४ देखि स्थिर थियो । लोकसभा निर्वाचन २०२४ अघि सरकारले प्रतिलिटर २ रुपैयाँ घटाएर उपभोक्तालाई राहत दिएको थियो ।

यद्यपि, भारतमा अन्तर्राष्ट्रिय बजारको औसत १५ दिनको कच्चा तेल मूल्यका आधारमा दैनिक मूल्य समायोजन गर्न सकिने व्यवस्था भए पनि राजनीतिक संवेदनशीलताका कारण लामो समयसम्म मूल्य परिवर्तन गरिएको थिएन ।

सरकारका अनुसार सरकारी स्वामित्वका तेल कम्पनीहरू इन्डियन आयल, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि घाटामा चलिरहेका थिए ।

पेट्रोलियम मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माका अनुसार पेट्रोल, डिजेल र एलपीजी बिक्रीमा कम्पनीहरूलाई मासिक करिब ३० हजार करोड भारतीय रुपैयाँ घाटा भइरहेको थियो ।

यसअघि सरकारले पेट्रोल र डिजेलको मूल्य स्थिर राख्न विशेष एक्साइज ड्युटी प्रतिलिटर १०–१० रुपैयाँ घटाएको थियो । पेट्रोलमा १३ रुपैयाँ रहेको शुल्क ३ रुपैयाँमा झारिएको थियो भने डिजेलमा १० रुपैयाँ रहेको शुल्क शून्यमा ल्याइएको थियो । यस कदमले पेट्रोल र डिजेलको मूल्य लामो समयसम्म स्थिर राख्न सहयोग गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबार तेलंगानामा आयोजित कार्यक्रममा पश्चिम एसियाको भू–राजनीतिक अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोग सावधानीपूर्वक गर्न सुझाव दिएका थिए ।

उनले पेट्रोल, ग्यास र डिजेलको प्रयोग संयमतापूर्वक गर्नुपर्ने बताएका थिए । आयातित पेट्रोलियम पदार्थ आवश्यकताअनुसार मात्रै प्रयोग गर्दा विदेशी मुद्रा बच्ने र युद्धको नकारात्मक असर पनि कम हुने उनको भनाइ थियो ।

 

 

तपाईको प्रतिक्रिया