काठमाडौं, ९ जेठ २०८३ । २०८३ साल वैशाखयता शनिबार सम्म भएका एक हजार ३४२ विपद्जन्य घटनामा देशभर गरेर ७० जनाले ज्यान गुमाएका छन् । पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४, आगलागीमा परी ११ जनाले ज्यान गुमाएका छन् । हुरीबाट नौ, जनावरको आक्रमणमा आठ, सर्पदंशबाट पाँच, पहिरोमा परी दुई, डुंगा पल्टिएर दुई र डढेलो, बाढी र हिउँपहिरोमा परेर एकरएकजनाको मृत्यु भएको छ ।
ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
विपद्जन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा भएका छन् । हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ घटना भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र विपद्जन्य घटनामा परेरका तीनजनाको मृत्यु भएको पनि उनले बताइन् । ३२ घटनामा १३ जना घाइते र १७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणले जनाएको छ ।
देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला बाढीपहिरो र कतै तातो हावाको लहर जारी छ ।रासस






