Online Bichar
आइतबार, जेठ १०, २०८३ | Sunday, May 24, 2026

काठमाडौं, ९ जेठ २०८३। बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयको अतिरिक्त अवधिमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था गरिएको छ । अतिरिक्त समय अर्थात् ‘ओभर टाइम’ काममा लगाउनुपरेमा प्रचलित कानुन र व्यवस्थाबमोजिम अनिवार्य रूपमा थप पारिश्रमिक प्रदान गर्न भनिएको छ ।

बैंकहरूले ‘तार्गेट’ दिएर काम लगाउने, दबाब दिने गुनासो बढेको थियो । नेपाल राष्ट्र बैंकले शुक्रबार (जेठ ८) एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई अतिरिक्त काममा बाध्य नपार्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाका निम्ति यस्तो निर्देशन जारी गरेको छ । योसँगै कर्मचारीलाई काममा लगाउँदा श्रम कानुन र राष्ट्र बैंकको निर्देशनको पालना गर्नुपर्ने जनाइएको छ ।

अपांगतामैत्री सरल बैंकिङ सेवा दिन निर्देशन

नयाँ व्यवस्था अनुसार, एटीएम लाउन्ज भएका स्थानहरूमा ब्रेल सांकेतिक बटन र अडियो सपोर्टसहितको कम्तीमा एउटा अपांगतामैत्री एटीएम राख्नुपर्नेछ । अपांगता भएका व्यक्तिहरूले आफैँ सेवा प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा उनीहरूलाई एटीएम, मोबाइल र इन्टरनेट बैंकिङजस्ता सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

बैंकका वेबसाइट र मोबाइल एपहरू पनि दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र डेबिटरक्रेडिट कार्डमा स्पर्श गरेर चिन्न सकिने ‘ट्याक्टाइल फिचर’को व्यवस्था गर्न निर्देशन दिइएको छ ।

यसअघि पनि बैंकहरूले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र साक्षर नभएका ग्राहकलाई विशेष प्राथमिकता दिई सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । बैंकहरूले आपसी समन्वय गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपांगतामैत्री बनाउनुपर्ने र सोको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने यसअघिदेखि व्यवस्था छ ।

पछिल्ला सबै निर्देशन कार्यान्वयनमा आएपछि बैंकिङ क्षेत्र थप पहुँचयोग्य र कर्मचारीको श्रम अधिकारको समेत संरक्षण हुने केन्द्रीय बैंकको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया