काठमाडौं, ८ जेठ २०८३ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागार कार्यालयहरूमा आगजनी तथा तोडफोड हुँदा फरार भएका चार हजार ९४ जना कैदीबन्दीहरू अझै फरार रहेका छन् ।
आन्दोलनका क्रममा आगजनी, तोडफोड र विध्वंशको मौका छोपेर १४ हजार ५५९ जना कैदीबन्दीहरू फरार भएका थिए । भागेका कैदीबन्दीलाई सरकारले समय दिएर फर्किन अनुरोध गरे पनि अझैसम्म चार हजार ९४ कैदीबन्दी फरार रहेका हुन् ।
कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेले शुक्रबार प्रतिनिधिसभाको कानुन समितिमा उक्त विवरण प्रस्तुत गरेका हुन् । जेलभित्रका बन्दीको मानव अधिकारको संरक्षणबारे प्रस्तुति गर्ने क्रममा उक्त तथ्य उजागर भएको हो ।
निर्देशक न्यौपानेले देशभर रहेका कारागारहरूमध्ये तीनवटा जिल्लामा रहेका कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दीहरू रहेको पाइएको जानकारी दिए ।
समितिमा प्रस्तुत कैदीबन्दीको विवरणअनुसार ताप्लेजुङ, रूकुमपश्चिम र सल्यानमा क्षमताभन्दा पाँचगुणा बढी बन्दी कोचाकोच छन् । गुल्मी कारागारमा चारगुणा बढी कैदीबन्दी बन्दी छन् । धनकुटा, घोराही, उदयपुर, सुर्खेत, म्याग्दी र काभ्रेमा तीनगुणा बढी कैदीबन्दीहरू खाँदिएका छन् ।
बाँकी २४ वटा कारागारमा दुईगुणा बढी छन् । विभागको तथ्यांकमा देशभर रहेका ७५ वटा कारागारमध्ये कुल २७ हजार ४२४ कैदीबन्दी छन् । तिमध्ये २५ हजार ९३० जना पुरूष र एक हजार ४९४ महिला छन् ।
हुम्ला जेलमा कैदीबन्दी छैनन् । तथ्यांकअनुसार पहाडी जिल्ला बैतडीसहित सबै हिमाली जिल्लाका जेलमा क्षमताभन्दा कम कैदीबन्दी छन् ।
विवरण अनुसार जेल तोडेर भाग्ने क्रममा नौवस्ता बाल सुधारमा पाँचजना, रामेछाप कारागारमा तीनजना र धादिङमा दुईजना गरी १० जनाको ज्यान गएको थियो ।






