Online Bichar
शुक्रबार, जेठ ०१, २०८३ | Friday, May 15, 2026

काठमाडौं, १ जेठ २०८३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै आगामी असार १ गतेदेखि कक्षा ११ को भर्ना अभियान सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसपटक एक महिनाभित्रै नतिजा प्रकाशन गरेपछि विद्यालयहरूले पनि भर्ना प्रक्रिया अघि बढाउन थालेका हुन्

कतिपय विद्यालयहरूले एसईई नतिजा आएको भोलिपल्टैदेखि अनलाइन तथा भौतिक दुवै माध्यमबाट आवेदन लिन सुरु गरिसकेका छन् । काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ ।
तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन । एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन् ।

केही समयभित्रै पुराना विद्यार्थीको वार्षिक परीक्षा सञ्चालन गर्नुपर्ने, नयाँ भर्ना भएकाहरूलाई कक्षा सुरु गराउनुपर्ने र छात्रवृत्तिको समयसीमा नजिकिँदै गर्दा देखिएको यो चापको सहज व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न कायम छ ।

अन्योल नहुने सरोकारवालाहरूको दाबी

कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठनलाई लिएर विगतका वर्षहरूमा देखिने गरेको अन्योल यसपटक भने नहुने सरोकारवालाहरूले दाबी गरेका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० का पूर्व महासचिव लोकबहादुर भण्डारीले सरकारको पछिल्लो व्यवस्थापन र परीक्षा तालिकाको सराहना गरेका छन् । साथै, यसपटक विद्यार्थी र अभिभावकहरू कुनै अन्योलमा पर्नु नपर्ने उनले बताएका छन् । उनले कक्षा १२ को परीक्षा समयमै सकिएकाले समग्र भर्ना प्रक्रिया व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष भण्डारी भन्छन्, ‘सरकारको यो कदम स्वागतयोग्य छ । पहिलेको तुलनामा अहिले भर्ना प्रक्रिया र शैक्षिक व्यवस्थापन झन् सजिलो भएको अनुभूति हामीले गरेका छौँ । अब कक्षा १२ को पनि परीक्षा सकिएकाले विद्यार्थी भर्नालाई लिएर कुनै पनि किसिमको अव्यवस्था वा अन्योल हुने छैन ।’

उनले थपे, ‘विद्यार्थीहरू अन्योलमा पर्ने वा सधैँझैँ पठनपाठन ढिलो सुरु हुने समस्या यसपटक हुँदैन ।’

यसैगरी, निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० का अध्यक्ष कृष्ण अधिकारीले आगामी शैक्षिक सत्रको समयतालिकाबारे जानकारी दिँदै असारको पहिलो सातादेखि नै कक्षाहरू सुरु हुने स्पष्ट पारेका छन् । भर्ना प्रक्रियालाई सहज बनाउन विद्यालयहरू लागिपरेको उनको भनाइ छ ।

भविष्यको पठनपाठनको कार्यतालिकाबारे जानकारी दिँदै अधिकारीले भने, ‘हामी असारको पहिलो हप्ताबाटै कक्षा ११ को पढाइ सुरु गर्ने तयारीमा छौँ । सुरुमा भर्ना लिने र लगत्तै कक्षाहरू सञ्चालन गर्ने हाम्रो योजना छ । यसले गर्दा विगतमा जस्तो पछि गएर पठनपाठन ढिलो हुने समस्या निम्त्याउँदैन ।’

उनले पनि विद्यार्थी भर्नाका सन्दर्भमा कुनै पनि किसिमको अन्योल नरहेको र समयमै शैक्षिक सत्र अगाडि बढाउन विद्यालयहरू प्रतिबद्ध रहेको दोहोर्‍याए ।

शिक्षा मन्त्रालयले यस विषयमा आन्तरिक गृहकार्य अन्तिम चरणमा पुर्‍याएको र केही दिनभित्रै औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार मन्त्रालयले शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन यो योजना अघि सारेको हो ।

भर्ना अभियानको सन्दर्भमा सहसचिव अधिकारीले भने, ‘असार १ गतेदेखि नयाँ भर्ना खोल्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ ।’ यसको औपचारिक निर्णय केही दिनमै हुने सहसचिव अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया