काठमाडौं, ३१ वैशाख २०८३ । प्रतिनिधिसभा बैठक १५ मिनेटका निम्ति स्थगित भएको छ । बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह नै उपस्थित हुनुपर्ने भन्दै विपक्षीले सदन अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन अर्थमन्त्री डा। स्वर्र्णिम वाग्लेलाई समय दिए । त्यसपछि विपक्षी सांसदहरू उठे । जवाफका लागि प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने रुलिङ गर्न माग गरे ।
सभामुखले कार्यसूचीमा नै अर्थमन्त्रीले जवाफ दिने उल्लेख भएको बताए । प्रधानमन्त्रीले आफू उपस्थित हुन नसक्ने भनेर मन्त्रीबाट जवाफ दिने लिखित जानकारी पठाएको सुनाए । र, छलफल सकिएकाले मन्त्रीबाट जवाफ सुन्नका निम्ति सांसदहरूलाई बस्न आग्रह गरे । तर, विपक्षी मानेनन् । उनीहरूले छलफल चल्न दिइएको, जवाफ प्रधानमन्त्रीबाटै पाउनुपर्ने माग राखेका छन् ।






