Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

काठमाडौं, १९ वैशाख २०८३ । बाढी र पहिरोका कारण आज शनिबार देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण कतै पूर्ण रूपमा सडक बन्द भएको छ भने कतै एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार कोशी प्रदेशअन्तर्गत भोजपुर जिल्लामा बाढीका कारण समस्या देखिएको छ । भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा पर्ने मध्य पहाडी लोकमार्गमा प्रभाव परेको छ । उक्त सडकखण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडकखण्डमा इकु पहिरो झरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।

यसैगरी गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लामा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ । अन्नपूर्ण गाउँपालिका–३ जलजले क्षेत्रमा पर्ने बेनी–जोमसोम सडकखण्डमा अवरोध सिर्जना भएको हो । उक्त सडकमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ । प्रहरीले साँझ साढे ६ बजे यो सूचना जारी गरेको हो ।

 

तपाईको प्रतिक्रिया