Online Bichar
बिहिबार, बैशाख १७, २०८३ | Thursday, April 30, 2026

झापा, १६ वैशाख २०८३ । जिल्ला प्रशासन कार्यालय झापाले राहदानी (पासपोर्ट) हुलाकमार्फत सेवाग्राहीसम्म पुर्‍याउने नयाँ सेवा सुरु गरेको छ। मंगलबारदेखि लागू गरिएको यो व्यवस्था नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत सुरु गरिएको हो।

नयाँ प्रणालीअनुसार अब तयार भएका राहदानीहरू जिल्ला प्रशासन कार्यालयबाट हुलाक कार्यालयमार्फत सम्बन्धित पालिका वा सेवाग्राहीको घरसम्मै पुर्‍याइनेछ। यसका लागि जिल्ला प्रशासन कार्यालय झापाले हुलाक कार्यालयलाई जिम्मेवारी सुम्पिएको छ।

कार्यक्रमका क्रममा बुद्धशान्ति गाउँपालिकाका सेवाग्राहीका ६ वटा राहदानी जिल्ला हुलाक कार्यालय झापाका निमित्त प्रमुख टेकप्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको थियो। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले राहदानी हस्तान्तरण गर्दै सेवा विस्तारको शुभारम्भ गरेका हुन्।

दोस्रो चरणमा झापा गाउँपालिकाका सेवाग्राहीका राहदानी पनि हुलाकमार्फत घरदैलोमै पुर्‍याइने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यो व्यवस्थाले सेवाग्राहीलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने, समय र खर्च दुवै बचत हुने तथा प्रशासनिक सेवा थप सहज र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया