Online Bichar
मंगलबार, बैशाख १५, २०८३ | Tuesday, April 28, 2026

काठमाडौं, १५ वैशाख २०८३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले झापाको दमकस्थित एक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले दमक नगरपालिका–२ मा रहेको हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ देखि विद्यालयमा विभिन्न शीर्षकमा ठूलो आर्थिक अनियमितता भएको आयोगको दाबी छ। विशेषगरी, नमूना विद्यालय भवन निर्माणमा सबैभन्दा ठूलो हिनामिना भएको देखिएको छ।

आयोगका अनुसार भवन निर्माणको वास्तविक लागत एक करोड ४८ लाख ५३ हजार २६५ रुपैयाँ ८ पैसा रहेकोमा झुट्टा बिल भरपाई तयार गरी दुई करोड ७ लाख ५९ हजार ९२२ रुपैयाँ भुक्तानी गरिएको थियो। यसरी उक्त निर्माणमा मात्रै ५९ लाख २६ हजार ६८६ रुपैयाँ ९२ पैसा बढी भुक्तानी गरिएको पाइएको छ।

यस्तै, प्रधानाध्यापक र लेखापालबीच मिलेमतो गरी १६ लाख ६० हजार १०१ रुपैयाँ १९ पैसा बराबरको बेरुजु सिर्जना गरिएको र १७ लाख ९६ हजार ५२१ रुपैयाँ ६१ पैसा नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानबाट कुल ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ पैसा हिनामिना तथा हानिनोक्सानी भएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम दोषी ठहर गर्दै कैद सजाय, बिगो बराबर जरिवाना र हिनामिना रकम असुलउपर गर्न माग गर्दै मुद्दा दायर गरेको हो।

 

तपाईको प्रतिक्रिया