झापा, १५ वैशाख २०८३ । झापाको दमक नगरपालिका–९ अडियामलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आज बिहान करिब ९ः४५ बजे स्थानीय घनश्याम धिमालकी ३८ वर्षीया श्रीमती लिला माया धिमाल आफ्नै घरमा नुहाउनका लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।
घाइते अवस्थामै उनलाई उपचारका लागि निम्स अस्पताल दमक लगिएको थियो। उपचारका क्रममा चिकित्सकले बिहान ११ः३० बजे उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।






