बुटवल, १२ वैशाख २०८३ । गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ। डा. सम्राट पराजुली नेतृत्वको समितिले घटनाबारे प्रारम्भिक निष्कर्षसहित प्रतिवेदन बुझाउँदै संलग्न स्वास्थ्य संस्थामाथि कारबाही सिफारिस गरेको हो।
समितिले अन्तिम प्रतिवेदन नआएसम्म बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक सिल गर्न सिफारिस गरेको छ भने इन्दुलेखामा कार्यरत डा. सतिश रूपाखेतीलाई बिरामी जाँच गर्न प्रतिबन्ध लगाउन सुझाव दिएको छ। मेडिकल काउन्सिलले सोहीअनुसार निर्णय गरिसकेको जनाएको छ।
मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको हो। अन्तिम प्रतिवेदनपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ।
यसबीच खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्रीको भूमिकाबारे प्रारम्भिक प्रतिवेदन मौन देखिएको छ। मृतकका पति प्रकाश पाण्डेले भने खत्रीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
वैशाख ६ गते गर्भपतन प्रक्रियाको क्रममा गीता पाण्डेको मृत्यु भएको थियो। १३ हप्ताभन्दा बढीको गर्भ असामान्य देखिएको भन्दै उनी विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेकी थिइन्। तर उपचारको क्रममा एकपछि अर्को संस्थामा रेफर गरिँदा अन्ततः इन्दुलेखा क्लिनिकमा उनको ज्यान गएको बताइएको छ।
घटनापछि मृतकका आफन्तले संलग्न स्वास्थ्य संस्था र व्यक्तिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरेकोमा केही भने पछि थुनामुक्त भइसकेका छन्।





