इलाम, १२ वैशाख २०८३ । इलाम नगरपालिकास्थित इलाम अस्पतालको सेवा विस्तार तथा सुधारका लागि नयाँ आकस्मिक कक्ष ९इमर्जेन्सी ब्लक० निर्माण प्रक्रिया सुरु गरिएको छ। कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–७ मा निर्माण हुने यस भवनको शुक्रबार एक विशेष समारोहबिच शिलान्यास गरिएको हो।
काठमाडौँस्थित भारतीय दूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डन र इलाम नगरपालिकाका मेयर केदार थापाले संयुक्त रूपमा शिलान्यास गर्दै निर्माण कार्यको औपचारिक शुभारम्भ गरे। भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यस परियोजनाले इलामसहित आसपासका क्षेत्रका बासिन्दालाई आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
करिब ९ करोड ४० लाख नेपाली रुपैयाँ लागतमा निर्माण हुने यस इमर्जेन्सी ब्लकलाई उच्च प्रभाव सामुदायिक विकास आयोजना अन्तर्गत सञ्चालन गरिनेछ। परियोजनाको कार्यान्वयन र व्यवस्थापन इलाम नगरपालिकाले गर्नेछ।
नयाँ भवनमा आधुनिक उपकरण र आवश्यक पूर्वाधार रहने भएकाले आकस्मिक उपचार सेवा अझ प्रभावकारी हुने बताइएको छ। यसले सामान्य तथा गम्भीर बिरामीलाई तत्काल उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता घटाउने विश्वास गरिएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर केदार थापाले भारत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नयाँ संरचनाले जिल्लाको स्वास्थ्य सेवा प्रणालीलाई मजबुत बनाउने बताए।
त्यस्तै भारतीय दूतावासकी प्रतिनिधि गीताञ्जली ब्रान्डनले नेपाल सरकारको विकास प्राथमिकताअनुसार स्वास्थ्य क्षेत्रको सुधारमा भारत निरन्तर सहयोग गर्न तयार रहेको उल्लेख गरिन्।





