Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

काठमाडौं, १३ वैशाख २०८३ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नवजात शिशुहरूका निम्ति विशेष रूपमा तयार पारिएको पहिलो मलेरियाविरुद्धको औषधिलाई स्वीकृति दिएको छ। यो औषधि आर्टेमेथर र लुमेफेन्ट्राइनको संयोजनमा आधारित रहेको जनाइएको छ।

डब्ल्यूएचओका अनुसार पाँच किलोग्रामभन्दा कम तौल भएका शिशुका लागि यो औषधि पूर्ण रूपमा सुरक्षित मानिएको छ। हालसम्म नवजात शिशुमा मलेरियाको उपचार ठूला बालबालिकाका लागि बनाइएका औषधिबाटै गरिँदै आएको थियो, जसका कारण सही मात्रा (डोज) निर्धारण गर्न कठिनाइ हुने र जोखिम पनि रहने गरेको थियो।

विश्वभर मलेरियाबाट हुने कुल मृत्युमध्ये करिब ७० प्रतिशत हिस्सा पाँच वर्षमुनिका बालबालिकाको रहेको छ। यसै कारण यो उमेर समूहका लागि सुरक्षित औषधिको आवश्यकता लामो समयदेखि महसुस गरिँदै आएको थियो।

नयाँ औषधि डब्ल्यूएचओबाट स्वीकृत भएपछि पूर्ण क्लिनिकल परीक्षण गर्ने क्षमता नभएका देशहरूले समेत यसलाई प्रयोगमा ल्याउन सक्नेछन्। साथै, संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न निकायले औषधि खरिद गरी मलेरिया प्रभावित देशहरूमा वितरण गर्न सक्नेछन्। यसबाट लाखौँ बालबालिकाको ज्यान जोगिने अपेक्षा गरिएको छ।

डब्ल्यूएचओका महानिर्देशक तेद्रोस अधानोम गेब्रेयेसुस ले नयाँ औषधि, नयाँ परीक्षण प्रविधि र उन्नत झुलहरूले मलेरियाविरुद्धको लडाइँमा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार मलेरिया साना बालबालिका मात्र नभई गर्भवती महिलाका लागि पनि घातक रोग हो।

हरेक वर्ष विश्वभर करिब १० हजार आमाको मृत्यु मलेरियाका कारण हुने गरेको छ भने करिब दुई लाख शिशुको जन्मकै समयमा मृत्यु हुने गरेको तथ्यांक छ। साथै, करिब ५ लाख ५० हजार शिशु कम तौलका साथ जन्मने गरेका छन्। सन् २०२४ मा विश्वभर २८ करोडभन्दा बढी मलेरियाका बिरामी भेटिएका थिए भने पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्यांकले देखाउँछ।

मलेरियाबाट हुने कुल मृत्युमध्ये करिब ९० प्रतिशत सहारा मरुभूमि दक्षिणका अफ्रिकी देशहरूमा हुने गरेको छ। नयाँ औषधिले अफ्रिकाका करिब तीन करोड नवजात शिशुलाई प्रत्यक्ष फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैबीच डब्ल्यूएचओले मलेरिया पहिचानका लागि तीन नयाँ ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’लाई पनि स्वीकृति दिएको छ, जसले गलत उपचारको जोखिम घटाउनेछ। सन् २०२१ मा मलेरियाविरुद्धको पहिलो खोप सिफारिस गरिसकेको डब्ल्यूएचओले नयाँ औषधि र परीक्षण प्रविधिसँगै मलेरियाविरुद्धको लडाइँ अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया