काठमाडौं, १३ वैशाख २०८३ । डोनाल्ड ट्रम्पमाथि अमेरिकाको वासिङ्टनस्थित वाशिङ्टन हिल्टन होटलमा ज्यान लिने प्रयास भएको छ। ‘ह्वाइट हाउस संवाददाता रात्रिभोज’ चलिरहेका बेला भएको गोलीकाण्डबाट ट्रम्प सकुशल बचेका छन्।
अप्रिल २५ को राति आयोजित कार्यक्रममा सहभागी भएका ट्रम्पलाई लक्षित गर्दै ३१ वर्षीय कोल थोमस एलेनले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। कार्यक्रम सुरु भएको केही समयमै हलको पछिल्लो भागबाट गोली चलेपछि त्यहाँ उपस्थित पत्रकार र पाहुनाहरू त्रसित हुँदै टेबलमुनि लुकेका थिए।
घटनालगत्तै युनाइटेड स्टेट्स सिक्रेट सर्भिसका एजेन्टहरूले तत्कालै स्टेज घेराबन्दी गर्दै ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प, उपराष्ट्रपति जेडी भान्स लगायत उच्च अधिकारीहरूलाई सुरक्षित स्थानमा सारेका थिए। आक्रमणका क्रममा एक सुरक्षाकर्मी घाइते भए पनि बुलेट–प्रुफ ज्याकेटका कारण ज्यान जोगिएको जनाइएको छ।
आक्रमणपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सुरक्षा निकायको प्रशंसा गर्दै सुटर पक्राउ परिसकेको जानकारी दिएका छन्। प्रहरीले उक्त घटनालाई कुनै समूहसँग नजोडिएको एकल आक्रमण प्रयासका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।
यो घटना ऐतिहासिक रूपमा समेत उल्लेखनीय छ। यही होटेलमा सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनमाथि पनि गोली प्रहार भएको थियो। उक्त घटनामा जोन हिन्क्ली जुनियरले ६ राउन्ड गोली चलाउँदा रिगन गम्भीर घाइते भएका थिए तर बाँचेका थिए।
हिन्क्लीले अभिनेत्री जोडी फोस्टरलाई प्रभावित पार्न आक्रमण गरेको खुलेको थियो। उनलाई मानसिक रूपमा अस्वस्थ ठहर गर्दै लामो समय निगरानीमा राखिएको थियो।
४५ वर्षको अन्तरालमा उही स्थानमा फेरि राष्ट्रपतिमाथि हमला प्रयास हुनु संयोग मात्र नभई सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ। यस घटनापछि उच्चस्तरीय कार्यक्रमहरूको सुरक्षा प्रणालीमा कडा सुधार गरिने संकेत गरिएको छ।





