Online Bichar
आइतबार, बैशाख १३, २०८३ | Sunday, April 26, 2026

काठमाडौं, १२ वैशाख २०८३ । बालेन्द्र शाह नेतृत्वको पहलमा सरकारले काठमाडौं उपत्यकाभित्रका नदी किनार तथा सार्वजनिक र सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ।

शनिबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सुकुम्वासी बस्ती शान्तिपूर्ण रूपमा खाली गराइएको छ। साथै काठमाडौं–९ गैरीगाउँ र वडा नम्बर–३१ शान्तिनगरका बस्तीहरू पनि क्रमशः खाली गर्ने कार्य जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसैक्रममा कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार (बुद्धचोक) र वडा नम्बर–९ मनोहरा टोलका अनधिकृत बस्ती पनि हटाउने तयारी गरिएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ घरधुरी अनधिकृत रूपमा बसोबास गर्दै आएका छन्। तीमध्ये केही संरचना भत्काइसकिएको छ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीले स्थानीयलाई सामान व्यवस्थापन र ढुवानीमा सहयोग गरेका छन्। थापाथली क्षेत्रमा स्थानीयको सहकार्यका कारण प्रक्रिया शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको सचिवालयले जनाएको छ।

हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य क्षेत्रबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारलाई अस्थायी रूपमा दशरथ रंगशालामा राखी विवरण संकलन गर्ने र त्यसपछि काठमाडौंका विभिन्न होटलमा राख्ने तयारी गरिएको छ।

घरायसी सामग्रीहरू भने कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्संग व्यास नेपाल परिसरमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।

सरकारले आइतबारदेखि वास्तविक सुकुम्वासीको पहिचान गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ। पहिचानपछि योग्य ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ। त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम अघि बढाइने बताइएको छ।

तपाईको प्रतिक्रिया