काठमाडौं, १० वैशाख २०८३ । सरकारले राजधानीका विभिन्न क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँ क्षेत्रका बस्ती हटाइने भएको हो।
काठमाडौं महानगरपालिका प्रहरी बलका अनुसार अन्य क्षेत्रमा रहेका बस्तीहरू भने दोस्रो चरणमा हटाइनेछन्।
थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गर्न प्रहरीले यसअघि नै सूचना जारी गरिसकेको छ। बिहीबार साँझ माइकिङ गर्दै स्थानीयलाई बस्ती खाली गर्न आग्रह गरिएको हो।
यसअघि बालेन्द्र शाह ले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र बस्ती खाली गराउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्रहरीले भोलि बेलुकासम्म बस्ती खाली गर्न माइकिङ गरेको जनाएको छ।
बालेन्द्र शाहले काठमाडौं महानगरको मेयर रहँदादेखि नै सुकुम्वासी बस्ती व्यवस्थापन तथा हटाउने प्रयास गर्दै आएका थिए। यसअघिका प्रयास सफल हुन नसके पनि यसपटक सरकारकै पहलमा प्रक्रिया अगाडि बढाइएको छ।





