काठमाडौं, १० वैशाख २०८३ । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने उद्देश्यसहित चुरोट खरिदमा दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ। यसलाई सार्वजनिक स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तनका रूपमा लिइएको छ।
नयाँ कानुनअनुसार सन् ३१ डिसेम्बर २००८ पछि जन्मिएका व्यक्तिहरूले जीवनभर चुरोट खरिद गर्न पाउने छैनन्। यस व्यवस्थाले हरेक वर्ष न्यूनतम उमेर स्वतः बढ्दै जाने प्रणाली लागू गर्नेछ, जसका कारण भविष्यका किशोरकिशोरीहरू धूम्रपानको पहुँचबाट टाढा रहनेछन्।
धूम्रपान नियन्त्रणमा दशकौँदेखि चल्दै आएको प्रयासपछि यो कदम महत्वपूर्ण उपलब्धि भएको सरोकारवालाहरूले बताएका छन्। ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले यसलाई धूम्रपान अन्त्यतर्फको निर्णायक कदम भनेका छन्।
कानुन कार्यान्वयनका लागि अब बेलायती राजा चार्ल्स तृतीयको औपचारिक स्वीकृति आवश्यक छ। त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनमा थप कडा नियमन लागू गर्नेछ।
हाल बेलायतमा १८ वर्षमुनिका व्यक्तिलाई सुर्तीजन्य वस्तु बिक्रीमा प्रतिबन्ध छ। तर नयाँ कानुनले यसलाई अझ कडा बनाउँदै दीर्घकालीन रूपमा धूम्रपान अन्त्य गर्ने लक्ष्य राखेको छ।
सरकारी तथ्यांकअनुसार बेलायतमा हाल करिब ६४ लाख मानिस धूम्रपान गर्छन् भने प्रत्येक वर्ष करिब ८० हजार जनाको मृत्यु धूम्रपानसम्बन्धी कारणले हुने गरेको छ। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले यो कानुनले बेलायतलाई ‘पहिलो धूम्रपानमुक्त पुस्ता’ तर्फ लैजाने विश्वास व्यक्त गरेका छन्।रासस/एपी





