काठमाडौं, १० वैशाख २०८३ । खाडी तथा पश्चिम एसियाका मुलुकमा वैदेशिक रोजगार पुनः सुरु भएसँगै विदेशिने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ।
इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण करिब दुई महिनादेखि रोकिएको श्रम स्वीकृति पुनः खुला भएसँगै पछिल्लो दुई दिनमै ५ हजार ७ सय ३० जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये खाडी तथा पश्चिम एसियाका १२ मुलुकका लागि मात्रै ३ हजार ४ सय ८३ जनाले स्वीकृति लिएका छन्।
युद्धको प्रभावका कारण साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायललगायत मुलुकमा श्रम स्वीकृति स्थगित गरिएको थियो। अवस्था केही सहज बनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख ७ गतेदेखि पुनः श्रम स्वीकृति खुला गरेको हो।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति खुलेको दोस्रो दिन बुधबार मात्रै २ हजार ९ सय ९६ जनाले स्वीकृति लिएका छन्। तीमध्ये १ हजार ८ सय ३८ जना प्रतिबन्धित सूचीमा रहेका मुलुकतर्फ गएका हुन्। त्यस्तै, पहिलो दिन मंगलबार २ हजार ७ सय ३४ जनाले श्रम स्वीकृति लिएका थिए, जसमा १ हजार ६ सय ४५ जना ती १२ मुलुकका लागि थिए।
विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खिलराज राईका अनुसार श्रम स्वीकृति पुनः खुला भएसँगै विदेश जानेको संख्या तीव्र रूपमा बढ्न थालेको छ।
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ लाख ८७ हजार ३ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन्। यसमध्ये ५ लाख १७ हजार ९ सय २९ जना पुरुष र ६९ हजार ४ सय ३ जना महिला रहेका छन्। चैत महिनामा मात्रै ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति लिएका थिए।
श्रम स्वीकृति खुला भएसँगै वैदेशिक रोजगारीको प्रवाह पुनः तीव्र बन्ने संकेत देखिएको छ।






