बुटवल, ४ वैशाख २०८२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारीलाई दुई लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय, भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको हो ।
सेवाग्राहीको जग्गासम्बन्धी काममा सर्जमिन मुचुल्का तयार पार्ने क्रममा सहजीकरण गरिदिने बहानामा उनले सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
सोही क्रममा विशेष सूचनाका आधारमा पुगेको टोलीले मगरलाई भैरहवा बजार क्षेत्रबाटै रंगेहात पक्राउ गरेको हो ।
अख्तियारका अनुसार, उनको साथबाट घुस बापतको दुई लाख रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका मगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।






