काठमाडौं, ४ वैशाख २०८३ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको सेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ। संशोधित कारोबार सञ्चालन विनियमावली आगामी सोमबारदेखि कार्यान्वयनमा ल्याइने भएको हो।
यसअघि नेप्सेमा दैनिक मूल्य उतारचढावको अधिकतम सीमा १० प्रतिशत थियो। विनियमावली संशोधनमार्फत उक्त सीमालाई ५ प्रतिशत बिन्दुले बढाएर १५ प्रतिशत पुर्याइएको हो।
नेप्से सञ्चालक समितिले ‘कारोबार सञ्चालन विनियमावली, २०८२’ को चौथो संशोधन लागू गर्ने निर्णय गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार कारोबार समयअघि वा पछि ग्राहकले प्रणाली (टीएमएस) मार्फत दिएका आदेशलाई समय प्राथमिकताका आधारमा राखिनेछ र कारोबार सुरु भएपछि क्रमशः प्रणालीमा प्रविष्ट गरिनेछ। तर, आदेश प्रविष्ट गर्दा अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको १५ प्रतिशतभन्दा बढी वा कम नहुने गरी मात्र राख्नुपर्नेछ।
प्रारम्भिक कारोबार सत्र (१०:३०–१०:४५) मा भने अर्डर प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ५ प्रतिशत सीमाभित्र रहनुपर्ने व्यवस्था गरिएको छ। यस सत्रमा भएका कारोबारहरू नियमित सत्रमा समायोजन गरिनेछन्।
नियमित कारोबार सत्रमा भने मूल्यको ३ प्रतिशत घटी वा बढीको सीमाभित्र रही आदेश प्रविष्ट गर्नुपर्नेछ, जुन यसअघि २ प्रतिशत थियो।
साथै, सर्किट ब्रेकसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्नेछ र १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ। त्यसपछि खुलेको बजारमा परिसूचक ८ प्रतिशतले बढेमा वा घटेमा सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।
यसअघि तीन चरणको सर्किट ब्रेक व्यवस्था थियो, जसअनुसार क्रमशः ४, ५ र ६ प्रतिशतको उतारचढावमा सर्किट लाग्ने प्रावधान थियो। अब भने दुई चरणको मात्र सर्किट ब्रेक व्यवस्था लागू हुने भएको छ।






