काठ्माडौं, ४ वैशाख २०८३ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श दिने तथा औषधि सिफारिस गर्ने चिकित्सकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
काउन्सिलले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै बिरामीको प्रत्यक्ष परीक्षण नगरी औषधि सुझाउने र बिरामीको गोपनीयता भंग गर्ने कार्य तत्काल रोक्न निर्देशन दिएको हो।
काउन्सिलका रजिस्ट्रार डा। सतिस कुमार देवद्वारा जारी सूचनामा टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरेर बिनापरीक्षण औषधि सिफारिस गर्नु गैरजिम्मेवार र अवैज्ञानिक कार्य भएको उल्लेख गरिएको छ। यस्तो गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने काउन्सिलको भनाइ छ।
एनएमसीले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा पेशागत आचारसंहिता कडाइका साथ पालना गर्न चिकित्सकलाई निर्देशन दिएको छ। साथै, बिरामीसँग सम्बन्धित भिडियो वा सामग्री सार्वजनिक गर्दा बिरामीको अनुहार र पहिचान गोप्य राख्नुपर्ने स्पष्ट पारेको छ।
त्यस्तै, सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने पनि काउन्सिलले जनाएको छ। निर्देशन उल्लंघन गर्ने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिल ऐन तथा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी काउन्सिलले दिएको छ।






