Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

रूपन्देही, २ वैशाख २०८३ । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले रु १०० भन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको छ।

मुख्य नाका बेलहिया, फरेनियालगायत साना नाकाहरूमा निगरानी बढाइएको छ। सीमावर्ती बजारबाट रु १०० भन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्नेबारे सशस्त्र प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेको छ। सरकारको निर्देशन र स्थानीय प्रशासनको सक्रियतामा विगतमा फितलो बनेको यो व्यवस्था पुनः प्रभावकारी बनाइएको भन्सार कार्यालयले जनाएको छ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुङ्गानाका अनुसार अघिल्लो हप्तादेखि नै उक्त व्यवस्था पूर्ण रूपमा लागू गरिएको छ। “भारतीय बजारबाट फर्किने सर्वसाधारणलाई सम्झाइबुझाइ गर्दै रु १०० भन्दा बढीका सामानमा भन्सार काट्ने काम भइरहेको छ,” उनले भने। उनका अनुसार प्रारम्भिक चरणमा जानकारी अभावका कारण गुनासो आए पनि अहिले माइकिङमार्फत जनचेतना फैलाउने काम भइरहेको छ।

“यो व्यवस्थाले ठूलो राजस्व वृद्धि नगरे पनि चुहावट नियन्त्रण र कानुनी शासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ,” ढुङ्गानाले बताए।

यसअघि करिब डेढ वर्षअघि स्थानीय व्यवसायीहरूको पहलमा यो व्यवस्था लागू गरिएको भए पनि चार महिनामै कार्यान्वयन फितलो बनेको थियो।

यद्यपि, नयाँ कडाइप्रति सर्वसाधारणले असन्तुष्टि जनाएका छन्। सीमावर्ती बजारबाट फर्किने उपभोक्ताहरूले पर्याप्त पूर्वसूचना नदिइएको गुनासो गरेका छन्। “पहिले नै जानकारी दिएको भए तयारी गरेर आउँथ्यौँ, तर सीमानाकामै थाहा पाउँदा झन्झट भएको छ,” एक सर्वसाधारणले भने।

उनीहरूले रु १०० को सीमा अत्यन्तै न्यून र अव्यवहारिक भएको भन्दै सामान्य घरायसी सामानमा समेत भन्सार तिर्नुपर्ने व्यवस्था व्यवहारमा कठिन भएको बताएका छन्।रासस

तपाईको प्रतिक्रिया