काठमाडौं, २ वैशाख २०८३ । राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल व्यवस्थापन अब प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने तयारी गरेको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नं १५ अनुसार शिक्षकको सिटरोल दर्ता तथा अवकाशपछिको सेवा सुविधा व्यवस्थापन प्रदेशस्तरबाट गर्ने व्यवस्था मिलाउने उल्लेख छ। सोही निर्णयअनुसार नयाँ प्रणाली लागू गर्ने तयारी भइरहेको हो।
राष्ट्रिय किताबखानाका महाप्रबन्धक श्रवणकुमार पोखरेलका अनुसार पहिलो चरणमा डिजिटल सेवा, इ–पेन्सन तथा सिटरोल दर्ता प्रक्रियालाई अनलाइन प्रणालीसँग जोड्ने काम अघि बढाइएको छ। यसका लागि आवश्यक कार्यविधि स्वीकृतिको प्रक्रिया पनि सुरु गरिएको छ।
नयाँ व्यवस्था लागू भएपछि शिक्षकको अवकाशपछिको प्रशासनिक प्रक्रिया थप सहज, डिजिटल र विकेन्द्रीकृत हुने अपेक्षा गरिएको छ।रासस






