काठमाडौं, २ वैशाख २०८३ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन आगामी शुक्रबार ९वैशाख ४ गते० हुने भएको छ। ‘मिनी संसद्’का रूपमा रहेका समितिहरूको सभापति चयनका लागि संघीय संसद् सचिवालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यहरूले सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सक्नेछन्। प्रस्तावमा सम्बन्धित समितिका एक सदस्य प्रस्तावक र अर्को सदस्य समर्थक हुनुपर्ने व्यवस्था रहेको संघीय संसद्का सचिव हर्कराज राईले जानकारी दिएका छन्।
त्यसै दिन साँझ ४:३० बजेसम्म दर्ता भएका प्रस्तावहरूको सूची दर्ता क्रमअनुसार प्रकाशित गरिनेछ।
शुक्रबार दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र त्यसपछि सभापति चयनका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।






