काठमाडौं, २ वैशाख २०८३ । बुधबारदेखि राष्ट्रिय आर्थिक गणना देशभर सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यसका लागि करिब ४ हजार गणकहरू परिचालन गरिएको छ।
कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार यो गणना आगामी दुई महिना सात दिनसम्म सञ्चालन हुनेछ। गणनामा नेपालको भूगोलभित्र रहेका वस्तु तथा सेवा उत्पादन, वितरण तथा आर्थिक कारोबार गर्ने सबै प्रकारका स्थायी प्रतिष्ठानहरू समेटिनेछन्। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित सुरु गरिएको यो कार्यक्रमले संघ, प्रदेश र स्थानीय तहसम्मको अर्थतन्त्रको वास्तविक आकार निर्धारण गर्न सहयोग गर्ने बताइएको छ।
प्रवक्ता लामिछानेका अनुसार यस गणनाको मुख्य उद्देश्य नीतिगत योजना निर्माणलाई प्रभावकारी बनाउनु तथा लगानीका क्षेत्रहरू पहिचान गर्नु हो। यस पटक गणनामा आधुनिक प्रविधिको प्रयोग गरिएको छ। गणकहरूको लोकेसन र कार्यक्षेत्र ट्रयाक गर्न जीआईएस प्रविधि प्रयोग गरिएको छ भने ठूला प्रतिष्ठानहरूले “ई–सेन्सस” प्रणालीमार्फत अनलाइनबाटै विवरण भर्न सक्ने व्यवस्था मिलाइएको छ। कार्यालयले करिब १ लाख प्रतिष्ठानले अनलाइनमार्फत विवरण दिने अपेक्षा गरेको छ।
तथ्यांक ऐनअनुसार व्यक्तिगत विवरण गोप्य रहने र संकलित तथ्यांक केवल समग्र रूपमा मात्र सार्वजनिक गरिने कार्यालयले स्पष्ट पारेको छ। साथै, यी विवरणहरू कर वा प्रशासनिक प्रयोजनमा प्रयोग नगरिने भएकाले ढुक्क भएर सही जानकारी दिन आग्रह गरिएको छ।
गणनालाई प्रभावकारी बनाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्स लगायतका संस्थाहरूसँग समन्वय गरिएको छ। साथै, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय र स्थानीय सरकारहरूसँगको सहकार्यमा प्रचारप्रसार भइरहेको छ।
सम्भावित समस्या समाधानका लागि टोल–फ्री नम्बर ११७८ सञ्चालनमा ल्याइएको छ। साथै, जिल्ला र स्थानीय तहमा सहजीकरण तथा अनुगमन समिति गठन गरिएको छ। प्रवक्ताले सम्पूर्ण उद्यमी, व्यवसायी तथा सेवा प्रदायक संस्थाहरूलाई सही विवरण उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रको यथार्थ चित्रणमा सहयोग गर्न आग्रह गरेका छन्।






