Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

काठमाडौं, २ वैशाख २०८३ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालय र मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूका लागि नौबुँदे आचारसंहिता तथा प्रतिबद्धतापत्र जारी गरेको छ। मन्त्रालयका अनुसार सरकारी सेवा प्रवाहलाई अनुशासित, प्रभावकारी र पारदर्शी बनाउन उक्त आचारसंहिता लागू गरिएको हो।

कर्मचारीहरूले नेपालको संविधान तथा प्रचलित कानुन, नीति र नियमहरूको पूर्ण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। आचारसंहितामा कर्मचारीहरू समयमै कार्यालयमा उपस्थित हुनुपर्ने, बिदा नलिई अनुपस्थित नहुनुपर्ने, तथा कार्यालय समयको कडाइका साथ पालना गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, कर्मचारीहरूले कार्यालयमा रहँदा तथा औपचारिक प्रतिनिधित्व गर्दा तोकिएको पोशाक अनिवार्य रूपमा लगाउनुपर्ने र परिचयपत्र सबैले देखिने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ। कामकाजका सम्बन्धमा कुनै फाइल, टिप्पणी वा निर्णय प्रक्रियामा संलग्न कर्मचारीले कामलाई समयमै सम्पन्न गर्नुपर्ने र ढिलाइ भएमा सम्बन्धित सुपरीवेक्षकलाई जानकारी गराउनुपर्ने प्रावधान पनि आचारसंहितामा समावेश छ।
कर्मचारीहरूले आफ्नो जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा निर्वाह गर्नुपर्ने तथा सेवा प्रवाहमा वृद्ध, अशक्त, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र असहायलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

साथै, कार्यालय परिसर र कार्यकक्ष सफा राख्नुपर्ने, तथा सरकारी स्रोतसाधनको मितव्ययी र प्रभावकारी प्रयोग गर्नुपर्ने नियम पनि आचारसंहितामा समावेश गरिएको छ।
मन्त्रालयले यो आचारसंहिता कर्मचारी आचरण सुधार र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको जनाएको छ।

तपाईको प्रतिक्रिया