काठमाडौं, ३० चैत २०८२ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने अनुमति दिएको छ।
लामिछानेको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश केदारनाथ पौडेलको इजलासले उक्त अनुमति प्रदान गरेको हो। उनले आफू बिरामी रहेको र काबुबाहिरको परिस्थितिका कारण व्यक्तिगत रूपमा तारेखमा उपस्थित हुन नसक्ने उल्लेख गर्दै निवेदन दिएका थिए।
अदालतले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट जारी गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई आधार मानेर वारेस राख्न अनुमति दिएको हो। आदेशअनुसार अब लामिछानेले मुद्दाको तारिखमा स्वयं उपस्थित हुनुपर्ने छैन।
चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार, मुद्दाको प्रकृति, स्वास्थ्य अवस्था र कार्यव्यस्तता लगायतका कारणलाई आधार मानेर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९५ (२) बमोजिम अवधि नतोकी वारेस राख्न अनुमति दिइएको हो।
अदालतको आदेशअनुसार, सहकारी ठगीसम्बन्धी मुद्दामा अन्तिम फैसला नआएसम्म लामिछानेले वारेसमार्फत नै प्रक्रिया अगाडि बढाउन पाउनेछन्।






