झापा, २९ चैत २०८२ । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार दिउँसो ४:३० बजे चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा पाँच जना घाइते भएका थिए। घाइतेमध्ये ईलाम नगरपालिका–६ बस्ने करिब २५ वर्षीय भुपेन्द्र श्रेष्ठलाई बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। अन्य घाइतेहरूमा सुनसरी धरान–१५ का २७ वर्षीय मनीकुमार देवान, इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय अनिश बस्नेत, इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन् । सबैको बिर्तामोडस्थित स्पाईनेक्स अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






