काठमाडौं, २६ चैत २०८२ । प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । मन्त्री दीपककुमार साह पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्नुभएको हो ।
साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिँदा विभागीय जिम्मेवारीमा चासो नदिएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्नुभएको हो ।
यससँगै प्रधानमन्त्री बालेन शाहले श्रम मन्त्रालयसहित रक्षा तथा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्मा गरिएको कार्यभार हेरफेरसम्बन्धी सूचना राष्ट्रपति कार्यालयमा पठाइएको थियो । राष्ट्रपतिको कार्यालयले पनि उक्त हेरफेर सार्वजनिक गरिसकेको छ ।






