काठमाडौं, २६ चैत २०८२ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार (आज) पदबाट हटाएका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा साहलाई पदमुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा सक्रिय गराएको आरोप लगाउँदै कारबाहीका लागि सिफारिस गरेका थिए ।
यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले पनि उक्त विषयमा अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पार्टीसमक्ष बुझाएको थियो । मन्त्री साहको गतिविधिले पार्टीको छवि, सिद्धान्त र मर्यादामा गम्भीर असर परेको ठहर गर्दै सो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरिएको थियो ।
रास्वपाले आफ्नो विधानअनुसार पार्टीको आदर्श र मर्यादामा आँच आउने अवस्था भएमा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख गर्दै साहलाई हटाउन सिफारिस गरेको हो ।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले साहलाई पदमुक्त गरेका हुन् ।
यसैबीच, सोही प्रकरणमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि प्रधानमन्त्रीले सचेत गराएका छन् ।






