काठमाडौं, २२ चैत २०८२ । सरकारले १८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्थ मन्त्रालयअन्तगर्तका दुई परियोजनाका निम्ति १८५ मिलियन अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने निर्णय गरिएको हो ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, डिजिटल नेपाल ट्रान्सफर्मेसन परियोजनाका निम्ति ९० मिलियन र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलरबराबरको ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।
“अर्थ मन्त्रालयअन्तगर्तको डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि एसियाली विकास बैंक र विश्व बैंकले उपलब्ध गराउने क्रमशः ४० मिलियन अमेरिकी डलर र ५० मिलियन डलर गरी ९० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,” प्रवक्ता पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै भने, “अर्थ मन्त्रालयअन्तर्गत दिगो र समावेशी वित्त परियोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।”






