Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

झापा, ६ चैत २०८२ । दमक नगरपालिकाका नगरप्रमुख राम थापासंगको विवादका कारण उपप्रमुख रेगिना भट्टराईसहित कांग्रेस समर्थक जनप्रतिनिधिहरुले १८ औं नगर सभा बहिष्कार गरेका छन् ।

आज बिहान उपप्रमुख रेगिना भट्टराई (प्रसाईं)ले निजी निवासमा पत्रकार सम्मेलन गरी नगरसभा बहिष्कार गर्ने निर्णय गरिएको बताइन् । नगरप्रमुख थापाबाट अपमानजनक व्यवहार भएको , कर्मचारीहरू नगरप्रमुख थापाकै निर्देशनमा मात्र चल्ने गरेको, उपप्रमुखसँग समन्वय नगरेको , सुरुदेखि नै नगरप्रमुख थापाले उपप्रमुखलाई काम गर्न नदिएको , डेढ वर्षसम्म पनि उपप्रमुखलाई स्वकीय सचिव नदिएको , कार्यपालिका बैठकबारे आफूलाई जानकारी नै नदिएको ,नगरसभाअघि एजेन्डा र प्रक्रिया अनुसार काम नगरिएको , आफूले अध्यक्षता गर्ने समितिका प्रतिवेदनमाथि छलफल नगरिएको, उपप्रमुखको भूमिकालाई बेवास्ता गर्दै उपेक्षा गरिएको र काम गर्न खोज्दा पनि अवरोध सिर्जना गरिएको भट्टराईले आरोप लगाएकी छन् ।

पत्रकार सम्मेलनमा दमक वडा नम्बर ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल र वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्रप्रसाद भण्डारीसहित कांग्रेस समर्थक जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । दमक नगरपालिकाको १८औं नगरसभा आजदेखि शुरु हुँदैछ ।

 

तपाईको प्रतिक्रिया