Online Bichar
बुधबार, कार्तिक ०५, २०८३ | Wednesday, October 21, 2026

काठ्माडौं, ६ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रालयको संख्या घटाउने आन्तरिक तयारीमा जुटेको छ ।

केहीदिनदेखि शर्ष नेता सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लगायतका नेताहरु सरकार गठनको छलफल गरिरहेका हुन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा एक्लैले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । रास्वपा एक्लैले शक्तिशाली सरकार बनाउने नेताहरुले बताएका छन् । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातितर्फ ५७ सिट पाएको थियो । निर्वाचनअघि वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको थियो ।

“शक्तिशाली सरकार निर्माणमा रास्वपाका शीर्ष नेताहरु जटिरहनुभएको छ । मन्त्रालय घटाउने विषयमा निरन्तर छलफल भइरहेको छ । प्रधानमन्त्री बालेनको शपथसँगै मन्त्रिपरिषद् पनि एकै पटकगठन गर्ने गरी तयारी हो,” रास्वपाका एक नेताले  भने ।

रास्वपाले चुनावअघि सार्वजनिक गरेको बाचापत्रमै मन्त्रालय घटाउने बताएको थियो ।

ती नेता भन्छन्, “जतिसक्दो मन्त्रालय घटाएर सकभर १५ मा झार्ने त्यो पनि भएन भने १८ मा सीमित गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ । वरिष्ठ नेताले सीमित र स्मार्ट टिम चाहनुभएको छ । त्यसमा पनि छलफल जारी छ ।”

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ वटा मन्त्रालयहरु छन् ।

सरकार गठनको सुरुवाती दिनदेखि नै जनतालाई परिवर्तनका आशा जगाउनका लागि कस्ता कस्ता काम गर्ने, कस्तो मन्त्रिपरिषद् बनाउने भन्ने विषयमा पनि छलफल चलिरहेको ती नेताले बताए ।

ती नेताका अनुसार, मन्त्रीका लागि केही अनुभवी र क्षमता भएका नेताको नाम टुंगिइसकेको छ ।

स्रोतका अनुसार, बालेनको क्याबिनेटमा उपसभापति डोलप्रसाद अर्याललाई गृहमन्त्री र अर्का उपसभापति स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने विषय करिब पक्कापक्की भइसकेको छ ।

यसअघि गृहमा रास्वपाका महामन्त्री सुनील लम्सालको विषयमा पनि छलफल भएको थियो । विवाद र परिणाम दिन सक्ने सांसदलार्ई मन्त्री बनाउने र विज्ञ टिमसहित काम गर्ने विषयमा रास्वपा स्पष्ट रहेको ती नेताले बताए ।

“विवादरहित र परिणाम दिन सक्ने व्यक्तिलाई मन्त्री बनाउने हो । जनताको आशालाई कुनै पनि हालतमा निराशातर्फ जान दिन्नौँ । बालेनजीको नेतृत्वमा पारदर्शी, जनमुखी र परिणाममुखी सरकार बन्दैछ,” ती नेताले भने ।

स्वास्थ्य मन्त्रालयमा दुई डाक्टरमध्ये कसलाई पठाउने भन्ने विषयमा अझै टुंगो नलागेको रास्वपाको उच्च स्रोतले जनाएको छ ।

स्वास्थ्य मन्त्रीमा डा। लेखजंग थापा र तोसिमा कार्कीमध्ये एक जनालाई बनाउने छलफल जारी छ ।

त्यस्तै, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, शिक्षामन्त्रीमा सस्मित पोखरेल, सभामुखमा प्रवक्ता मनिष झा र कानुनमन्त्री सोविता गौतमलाई बनाउने विषयमा गृहकार्य भइरहेको छ । तर यी नाम टुंगो लागिनसकेको छलफलमा सहभागी एक नेताले बताए ।

यसबाहेक बालेन टिमबाट राजुनाथ पाण्डे वा अन्य कसैलाई मन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको उनीनिकट स्रोतले बताएको छ । बिहीबार बेलुका काठमाडौंको रोयल सिंगी होटलमा सभापति लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय वाग्ले र अर्यालबीच छलफल भएको थियो ।

चैत १२ गते नवनिर्वाचित सांसदहरुलाई शपथग्रहण र १३ गते बालेनले प्रधानमन्त्रीको शपथ लिने मिति टुंगो लागिसकेको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, संसदीय दलको नेता निर्वाचित गर्नका लागि मतदान गरिने छैन ।

“पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरुका सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने सहमति भइसकेको छ । सो सहमति अनुमोदनका लागि रास्वपाले १२ गते केन्द्रीय समितिको बैठक बसेर निर्णय लिइनेछ,” बुर्लाकोटीले भने ।बाह्रखरीबाट

 

 

तपाईको प्रतिक्रिया