Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

रमेश गुरागाईँ

छिमेकी भारतमा माक्र्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशनमा दीर्घकालीन जनयुद्धको रणनीतिसहित ५० वर्षदेखि निरन्तर सशस्त्र माओवादी विद्रोह सञ्चालित छ, जसको नेतृत्व भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले गरेको छ । यसले विश्वभरिका कम्युनिस्ट सशस्त्र संघर्षमध्ये सबैभन्दा लामो इतिहास कायम गरेको छ । यो वर्तमान विश्वमा हतियारबद्ध संघर्षरत वामपन्थी राजनीतिक संगठनमा सबैभन्दा शक्तिशाली र एक मात्र सशस्त्र संघर्षरत माओवादी वा कम्युनिस्ट पार्टी हो । अहिलेसम्म ५०औं हजार नागरिकको मृत्यु भइसकेको यति लामो आन्तरिक सशस्त्र विद्रोह भएर पनि यसतर्फ भारत सरकार र विश्वको पर्याप्त ध्यान केन्द्रित भएको पाइँदैन भने अर्को्तिर, भारतीय माओवादी जनयुद्ध आफै निर्णायक चरणमा विकास हुन सकेको छैन ।

ऐतिहासिक पृष्ठभूमि

भारतमा कम्युनिस्ट पार्टीको स्थापना सन् १९२० मा भएको हो । अँग्रेजको शासन रहेको बेला त्यहाँको स्वतन्त्रता आन्दोलनमा कम्युनिस्टहरुको योगदान अग्रणी थियो । यद्यपि कम्युनिस्टहरुको दर्शन, विचार र संघर्षले त्यसबेला भारतमा अपेक्षित मलजल पाउन सकेन । एक वर्ष ढिलो (१९२१ मा) स्थापना भएको चीनियाँ कम्युनिस्ट पार्टीले जनवादी क्रान्ति पूरा गर्दा भारतमा गान्धी हावी भइरहेका थिए । तर बिस्तारै चीनसहित भियतनाम र कोरियाको क्रान्तिको सफलतासँगै त्यसको प्रभावबाट भारत अछुतो रहन सकेन ।

भारतमा सशस्त्र कम्युनिस्ट क्रान्तिको पृष्ठभूमि तत्कालीन आन्ध्र प्रदेशको तेलंगनामा १९४६ देखि १९५१ सम्म भएको किसान विद्रोह हो । हुन त भारतमा १७८३ देखि १९०० सम्म मात्र ११० पटक किसान आन्दोलन भएका थिए । त्यसपछि तेलंगना विद्रोह सर्वोच्च आन्दोलन हो, जुनबेला ३,००० भन्दा बढि गाउँ किसानहरुले कब्जा गरेका थिए । भनिन्छ, सशस्त्र फौज नभएकै कारण तेलंगना विद्रोह असफल भएको थियो ।

तेलंगना विद्रोहको प्रभाव पश्चिम बंगालमा पनि प¥यो । त्यसैले १९५३ मा त्यहाँ भूमिसुधार लागू गरियो । तर, हदबन्दीभन्दा माथिको जमिन लुकाइएपछि भूमिहीन किसानको पक्ष लिँदै त्यसलाई खोस्नुपर्छ भन्ने बहस कम्युनिस्ट पार्टी्भित्र शुरु भयो । हाल बंगलादेशको पावनामा पर्ने एडवार्ड कलेजमा अध्ययन गरी फर्किएका जुझारु कम्युनिस्ट युवा चारु मजुमदारको नेतृत्वमा किसानहरुलाई संगठित गरियो । चारुले १९५९ देखि सक्रिय रुपमा शोषित किसान वर्गलाई परिचालन गर्दै आन्दोलनको तयारी थाले । अगष्ट ३१ मा हजारौं किसानले कम्युनिस्ट पार्टीको नेतृत्वमा कलकत्तामा प्रदर्शन गरे । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बर आक्रमण ग¥यो । कम्तिमा ८० जना मारिए भने सयौँ घाइते भए ।

हिमालय सीमा लगायत विवादको कारण १९६२ मा भएको भारत–चीन युद्धमा भारतको हार भयो । यसलाई हेर्ने फरकफरक दृष्टिकोणका कारण भारतीय कम्युनिस्ट पार्टी्भित्र अन्तरविरोध देखाप¥यो । पार्टी्भित्र रुस पक्ष वा चीन पक्ष हुँदै विभाजनको रेखा कोरियो । निर्वाचनमा भाग लिने वा नलिने विषयमा मतभेद सिर्जना भयो । अन्ततः १९६४ मा कलकत्तामा सम्पन्न सातौं महाधिवेशनबाट संशोधनवादीहरुसँग सम्बन्ध विच्छेद गर्दै पार्टीका क्रान्तिकारी नेता र कार्यकर्ताले भाकपा (माक्र्सवादी) गठन गरे ।

जनयुद्धको थालनी र विकास

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

चारुको नेतृत्वमा १९६६ मा किसान सम्मेलन आयोजना भयो र सम्मेलनको नारा ‘जसको जोत, उसको खेत’ तय गरिएको थियो । यसको कार्यान्वयनका लागि राजनीतिक र फौजी दुवै तयारी थाल्ने निर्णय भयो । अन्ततः १९६७ मा उनै चारुले कानु सन्याल, जंगल सन्थाल, सुरेन बोस, केशव सरकार सहित संघर्षको नेतृत्व गर्दै सशस्त्र शक्तिद्वारा भूमि कब्जा गरी भूमिहीन किसानलाई वितरण गरेका थिए, जुन भारतमा सशस्त्र संघर्षको उद्गम थियो । यसैलाई भारतीय माओवादी जनयुद्धको प्रारम्भिक झिल्को मानिन्छ ।

यसबीच पार्टीमा अन्तरविरोध तिव्र बन्यो । चारुले संशोधनवादविरुद्ध संघर्षको आव्हान गरे । १९६७ नोभेम्बरमा कलकत्तामा क्रान्तिकारीहरुको छुट्टै भेला आयोजना गरे । यस भेलाले अखिल भारतीय संयोजन समिति गठन ग¥यो । यसलाई १ वर्षपछि अखिल भारतीय क्रान्तिकारी कम्युनिस्ट संयोजन समितिमा पुनर्गठन गरी दीर्घकालीन जनयुद्ध सञ्चालन गर्ने निर्णय गरियो । तत्काल निर्वाचन बहिष्कार, आधार इलाका निर्माण आदि कार्यक्रम सहित उत्तर प्रदेश, बिहार, मध्य प्रदेश र आन्ध्र प्रदेशमा समेत सशस्त्र संघर्ष शुरुवात भयो ।

क्रान्तिकारी पार्टी बेगर क्रान्ति हुन सक्दैन भन्ने शिक्षालाई आत्मसात गर्दै चारु पार्टी निर्माणमा जुटे । उनले भारतमा क्रान्तिकारी पार्टी गठनको आवश्यकताबारे १९६९ मार्चमा एक लेख प्रकाशित गरे । १९६९ अप्रिल २२ मा १००औं लेनिन दिवसको अवसरमा माओविचारलाई मार्ग्निर्देशक सिद्धान्त मान्ने निर्णय सहित भाकपा (माले) गठन भयो । यसको समर्थनमा तत्कालीन चीनियाँ सरकारले पनि हरियो झण्डा देखायो । १९७० मा कलकत्ता सम्मेलनबाट औपचारिक रुपमा भाकपा (माले) का महासचिवमा चारु मजुमदार निर्वा्चित भए । यसरी पश्चिम बंगालबाट चारु भारतीय कम्युनिस्ट क्रान्तिको नायकको रुपमा उदाए । उनले भारतमा माओवादी जनयुद्धको वैचारिक आधार प्रतिपादन गरेका थिए, जुन ऐतिहासिक आठ दस्तावेजको नामले स्थापित छ ।

सशस्त्र संघर्ष शुरु भएपछि भूमि कब्जा र वितरण व्यापक भयो । क्रान्तिकारी संगठन र जनसेना निर्माण हुन थाले । जनयुद्धप्रति देशभरबाट समर्थन आउन थाल्यो । आन्ध्र प्रदेशको उत्तरी जिल्ला श्रीकाकुलमका ५१८ गाउँमध्ये ३०० जति मुक्त क्षेत्र घोषणा भएका थिए । यस जिल्लालाई चारु स्वयम्ले भारतको ‘येनान’ बन्न सक्ने भनेका थिए । भिषण वर्गसंघर्ष यसरी नै अन्य प्रान्तमा पनि विस्तार भयो ।

उता सरकारले सेना र प्रहरीको संयुक्त परिचालन गरी कम्युनिस्टहरुमाथि दमन शुरु ग¥यो । त्यसबेला पश्चिम बंगालमा संयुक्त सरकार थियो, जसमा माक्र्सवादी कम्युनिस्ट पार्टीका नेता ज्योति बसु गृहमन्त्री र अर्का नेता हरेकृष्ण कोनार भू–राजस्व मन्त्री थिए । १९७०–७१ मा तीब्र दमन र नरसंहारका अभियान चलाइए । आन्ध्र प्रदेश र पश्चिम बंगालमा नेताहरुको समेत सहादत भयो । जुलाई १६, १९७२ मा क्रान्ति नायक चारु मजुमदारलाई गिरफ्तार गरियो । १२ दिनसम्म लगातारको यातनाबाट ५६ वर्षको उमेरमा उनको मृत्यु भयो । त्यसबेलासम्म करिब ५ हजार क्रान्तिकारीको हत्या भइसकेको थियो ।

१९७५ मा अर्का नेता जहरको हत्या हुँदासम्म आन्दोलन कमजोर भइसकेको थियो । यसपछि पुनर्गठनको नेतृत्व कमरेड विनोद मिश्रले लिए । यसैबीच इन्दिरा गान्धी सरकारले भारतमा संकटकाल घोषणा ग¥यो । विनोद मिश्र समुह क्रमशः संसदवादमा पतन हुन थाल्यो । त्यसैले बिहारमा कनाई चटर्जीको नेतृत्वमा १९७५ मा माओवादी कम्युनिस्ट केन्द्र (एमसिसि) भइसकेको थियो भने आन्ध्र प्रदेशमा कोंडापल्ली सीतारमैयाको नेतृत्वमा १९८० अप्रिल २२ मा भाकपा (माले) जनयुद्ध समुह (पिडब्ल्युजि) गठन भयो । इमानदार र सचेत क्रान्तिकारीहरुलाई साथमा लिएर दुवै समुहले सशस्त्र संघर्ष जारी राखे ।

लामो समयसम्म एउटै देशमा छुट्टाछुट्टै सशस्त्र संघर्ष चलिरहँदा दुई समुहबीच अन्तरविरोध सिर्जना नहुने कुरै भएन । अझ द्वेष, ईष्र्या र आशंका विकास हुँदै आपसमा हतियार सोझ्याउने स्थितिसम्म पैदा भयो । २००४ मा नेपालमा माओवादी सशक्त भई जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणमा रहेको बेला भारतका ती दुई सशस्त्र संघर्षरत माओवादी पार्टीहरुको एकता भएको थियो । सशस्त्र युद्धको नेतृत्व गरिरहेका पिडब्ल्युजी र एमसिसिआइबीच पार्टी एकता सेप्टेम्बर २१, २००४ (घोषणा अक्टोवर २१) मा भयो र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन भयो । मे २०१४ मा यसमा भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलवाडी समुह पनि एकीकृत भएको छ । यसअघि २००३ मा एमसिसि र आरसिसिआइबीच एकता भई एमसिसिआइ गठन भएको थियो ।

सांगठनिक संरचना

भारतमा कुनै समय ३०औं टुक्रासम्म विभाजित भएका नक्सल समुह अहिले धेरैजसो एकताबद्ध भएका छन् । तीमध्ये करिब ९५ प्रतिशत भाकपा (माओवादी) मा एकीकृत भएका छन् । ससाना समुहमा अलगअलग रहेका नक्सल माओवादी प्रभावहीन छन् । नक्सल विद्रोहबाट आएका भाकपा माक्र्सवादी), भाकपा (माले), भाकपा (माले) जनशक्ति र भाकपा (माले) लिबरेसन समुहले निर्वाचनमा भाग लिइरहेका छन् ।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को विधान अनुसार केन्द्रीय समिति ३७ जनाको हुन्छ, जसमध्ये १४ जना पोलिट्ब्यूरो सदस्य रहन्छन् । प्रत्येक ५ वर्षमा पार्टी महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ । पार्टीको नेतृत्व ६८ वर्षीय महासचिव मुप्पाला लक्ष्मणा राव अर्थात् कमरेड गणपतिले गर्दै आएका छन् । यसअघि उनी पूर्व पिडब्ल्युजी समुहको स्थापनाकालदेखि नै नेतृत्व टोलीमा थिए । उनी तेलंगनाको करिमनगर जिल्लामा सन् १९४९ मा जन्मेका हुन्् । बिज्ञान र शिक्षा संकायमा स्नातक तहसम्म अध्ययन गरेका गणपति कुनै समय शिक्षण पेशामा थिए ।

पार्टीको केन्द्रीय समितिपछि विशेष क्षेत्रीय वा विशेष अञ्चल वा विशेष प्रान्तीय समिति रहन्छन् । यस तहमा दण्डकारण्य विशेष अञ्चल समिति, आन्ध्र–उडिसा बोर्डर विशेष अञ्चल समिति, उत्तरी तेलंगना विशेष अञ्चल समिति, विहार– झारखण्ड–उत्तरी छत्तिसगढ विशेष क्षेत्रीय समिति, पश्चिम बंगाल प्रान्तीय समिति, पञ्जाव प्रान्तीय समिति, महाराष्ट्र प्रान्तीय समिति छन् ।

संगठनको तेस्रो तहमा क्षेत्रीय ब्यूरो रहन्छ, जस अन्तर्गत उत्तरी, दक्षिण पश्चिमी, पूर्वी, केन्द्रीय, उडिसा छत्तिसगढ ब्यूरो पर्दछन् । यसैगरी चौथो तहमा अञ्चल वा जिल्ला वा डिभिजनल समिति र त्यसपछि क्रमशः उप अञ्चल वा सव डिभिजनल समिति, क्षेत्रीय समिति, स्थानीय समिति (गाउँ, कारखाना, क्याम्पस आदि) रहन्छन् । आधारभूत इकाईको रुपमा सेल समिति हुन्छन्, जसमा ३ देखि ५ जनासम्म पार्टी सदस्यलाई संगठित गरिन्छ । सेल समिति भूगोल, पेशा र उत्पादन इकाईस्तरमा गठन गर्न सकिन्छ ।

किसान, महिला, संस्कृतिकर्मी र विद्यार्थीका जनवर्गीय संगठन निर्माण भएका छन् । दण्डकारण्य आदिवासी किसान मजदुर संघमा १ लाख, क्रान्तिकारी आदिवासी महिला समितिमा ९० हजार र चेतना नाट्य मञ्चमा १० हजार भन्दा बढि सदस्य सकृय छन् ।क्रमशः

तपाईको प्रतिक्रिया