Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

बागलुङ, २१ असार २०८३ । जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीनसय ६९ नुमना जाँचगर्दा ७७ नमुनामा कोलिफर्म भेटिएको हो ।

गत वर्षको तुलनामा कोलिफर्म भेटिनेक्रम घट्दै गए पनि पानी शुद्वीकरण सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि कोलिफर्म भेटिनेक्रम रोकिएको छैन । गतवर्ष तीनसय ४१ नमुना जाँचगर्दा एकसय २५ मा कोलिफर्म भेटिएको थियो ।

आर्थिक वर्ष २०८०–८१ मा दुईसय ८ नुमना परीक्षण गर्दा ७३ स्थानको खानेपानीमा कोलिफर्म देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख छ । ‘‘अघिल्लो वर्षको तुलनामा घटे पनि कोलिफर्मको समस्या र त्यसबाट सिर्जित रोगको समस्या पनि उत्तिकै छ’’ प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले भन्नुभयो ।

कोलिफर्मको समस्या देखिएको स्थानमा खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीय तहमा समेत जानकारी गराउने र सचेतनाका कार्यक्रम सञ्चालन गरिएको शर्माले बताउनुभयो । ‘‘कोलिफर्म भेटिएपछि हामीले मुहान र आयोजनामा सरसफाइ गर्न, पानी शुद्वीकरणका उपाय खोज्न र घर–घरमा पानी उमालेर खान सल्लाह दिएका छौं’’ शर्माले भन्नुभयो ।

चालु वर्षमा घनाबस्ती रहेको बागलुङ नगरपालिका क्षेत्रका ३६ मुहानको पानी जाँचगर्दा ५ नमुनामा कोलिफर्म देखिएको छ । काठेखोलाका ९ र निसीखोला गाउँपालिकाका ३३ मुहान र आयोजनाको पानी जाँचगर्दा कोलिफर्म नदेखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्ली आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार, जैमिनीमा एकसय ३८ नमुना जाँदागर्दा २७, गलकोटमा ९६ नमुना जाँच गर्दा ३८, ढोरपाटन नगरपालिकामा ६ नमुना जाँचगर्दा १, बडिगाडमा २१ नमुना जाँच गर्दा ३, तमानखोला गाउँपालिकामा २२ नमुना जाँच गर्दा २ र बरेङ गाउँपालिकामा ८ नमुना जाँच गर्दा १ नमुनामा कोलिफर्म पाइएको छ ।

चालु आर्थिक वर्षमै जनस्वास्थ्य कार्यालयले म्याग्दीका तीन पालिकाका मुहानको पानी पनि परीक्षण गरेको थियो । तीन पालिकाका ६ सय ७४ नमुना परीक्षण गर्दा मंगलामा १०, मालिकामा ३ र धवलागिरी गाउँपालिकाको १ नमुना कोलिफर्म भेटिएको छ । मंगलमा ८३, मालिकामा एकसय ९७ र धवलागिरीका २५ खानेपानीको नमुना परीक्षण गरिएको थियो ।

मानव वा जनावरको दिसा तथा अन्य फोहोरबाट खानेपानीमा कोलिफर्म देखिने गरेको ल्याव टेक्निसियन निरीक्षक आचार्यले बताउनुभयो । कोलिफर्मयुक्त पानीका कारण झाडापखाला, हैजा, टाइफाइट, मलेरिया, जण्डिसलगायत पानीजन्य रोग देखापर्न सक्ने खतरा रहेकाले पानी निर्मलीकरण वा उमालेर खानुपर्ने आचार्यको सुझाव छ ।

खानेपानीका ट्रिटमेन्ट प्लान्टसहितका योजना बनाउने क्रम सुरु भए पनि कोलिफर्मबारे अझै चेतना बढाउन नसकिएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । जिल्ला खानेपानी गुणस्तर निगरानी समितिले पानी शुद्विकरण सम्बन्धी जनचेतना जगाउने काम गरिरहेको उहाँको भनाइ छ ।गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया