Online Bichar
शुक्रबार, कार्तिक ०७, २०८३ | Friday, October 23, 2026

बुटवल, ८ फागुन २०८२ । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार लगायतका विषयलाई समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

कार्यक्रममा पौडेलले सम्पन्न भएका पूर्वाधारहरू सञ्चालन गर्ने, निर्माणाधीन पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गर्ने र केही नयाँ पूर्वाधार सुरु गर्ने बताए । नारायणघाट सडक, बुटवल गोरुसिङे सडक, झुमसा खानेपानी, प्रादेशिक हस्पिटल लगायतका संरचनाको निर्माण कार्यलाई तीव्रता दिने र केहि ठूला आयोजनाहरु समेत सुरु गर्ने उनको भनाई छ।

पौडेलले तिलोत्तमा, सैनामैना तथा अन्य नगर क्षेत्रमा सडक स्तरोन्नति, लिंक रोड निर्माण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकता दिइने, बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक शहरी पूर्वाधार निर्माण गर्ने लगाएतका योजना रहेको जानकारी दिए।

त्यस्तै व्यापारिक क्षेत्रको पुनःव्यवस्थापन, यातायात क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माण गरी उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य रहेको भन्दै उनले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गरिने धारणा राखे ।

तपाईको प्रतिक्रिया