Online Bichar
शनिबार, कार्तिक ०८, २०८३ | Saturday, October 24, 2026

दमक, ३ फागुन २०८२ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि पुनः झापाको दमक आइपुगेका छन् । उनी तेस्रोपटक चुनावी अभियानका क्रममा झापा आएका हुन् ।

पार्टी स्रोतका अनुसार, अध्यक्ष ओली सोमबार देखि दमकका विभिन्न वडामा आयोजना हुने घरदैलो कार्यक्रममा सहभागी हुनेछन् । यसअघि उनी एक सातासम्म कमल, गौरादह र गौरीगन्ज पालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरी काठमाडौं फर्किएका थिए ।

अध्यक्ष ओली आइतबार भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गरेका हुन् । गत माघ २३ गते झापा आएर सात दिनको अवधिमा करिब ८० वटा गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका ओली फेरि दोस्रो चरणको अभियानका लागि झापा आएका हुन् ।

एमाले झापा–५ का चुनावी कमान्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार, अध्यक्ष ओली फागुन ६ गतेसम्म झापामै बस्ने कार्यक्रम छ । यस अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ तथा टोलमा पुगेर घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ । हरेक दिन कम्तीमा ६ देखि सात स्थानमा पुग्ने गरी अभियानको रुट तय गरिएको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया