विराटनगर, १ फागुन २०८२ । कोसी प्रदेशका विभिन्न जिल्लाका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५० जना महिला उमेदवार चुनावी दौडमा छन् ।
प्रमुख राजनीतिक दलसँगै नयाँ, पुराना र स्वतन्त्र उमेदवारी दिएका उनीहरूमध्ये अधिकांशको प्रतिस्पर्धा यसअघि चुनाव जितेका र कतिपय नयाँ दलका चर्चित अनुहारसँग हुँदै छ । कतिपय क्षेत्रमा महिला महिलाबीच नै कडा प्रतिस्पर्धा हुनेसमेत देखिएको छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर २ हेभिवेट महिला उमेदवार उठेमध्येको एक क्षेत्र हो । यहाँ नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट धर्मशिला चापागाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा राना मगर प्रतिस्पर्धामा छन् । प्रसाईं यसअघि समानुपातिक सांसद थिइन् । उनी कांग्रेसमा लामो समयदेखि सक्रिय छिन् ।
उनले राष्ट्रियसभामा एक कार्यकाल सांसदको भूमिका निर्वाह गरिसकेकी छन् । संविधानसभा निर्वाचन ०७० मा समानुपातिक सांसद थिइन् । उनी पूर्वकृषि राज्यमन्त्री पनि हुन् ।
रास्वपाकी इन्दिरा राना मगर विघटित प्रतिनिधिसभामा उपसभामुख थिइन् । झापामा जन्मिएकी उनी अघिल्लोपटक रास्वपाबाट समानुपातिक सांसद थिइन् । यसपटक प्रत्यक्ष निर्वाचनमा उमेदवार छिन् ।
राजनीतिमा पाइला राख्नुअघि मगर बन्दी सहायता नामक गैरसरकारी संस्था नेपालकी अध्यक्ष थिइन् । संस्थाले जेल सजाय भोगिरहेका महिलाका सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल दिलाउन काम गर्ने गरेको थियो ।
सोही क्षेत्रकी नेकपा उमेदवार धर्मशिला चापागाईं माओवादी युद्धकालबाट राजनीतिमा सक्रिय भएकी नेता हुन् । उनी एकपटक सांसद भइसकेकी छन् । चपागाईं माओवादी ‘सहिद परिवारुकी सदस्य पनि हुन् ।
झापा-२ मा अघिल्लोपटक एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए । उनी विघटित प्रतिनिधिसभाका सभामुख हुन् । उनी यसपटक पनि यो क्षेत्रमा उमेदवार बनेका छन् ।
झापा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी उमेदवार छिन् । युवामाझ लोकप्रिय उनको प्रतिस्पर्धा एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डेलगायतसँग छ । उप्रेती सहकारी क्षेत्रमा काम गरेर चर्चामा आई पछि राजनीतिमा सक्रिय भएका हुन् ।
पाण्डे कांग्रेस झापा जिल्ला उपसभापति हुन् । डाँगी विघटित प्रतिनिधिसभामा कान्छी सांसद थिइन् । उनी समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । यसपटक भने प्रत्यक्ष निर्वाचनमा होमिएकी छन् ।
त्यस्तै, झापा-५ मा कांग्रेसकी मन्धरा चिमरिया एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग प्रतिस्पर्धामा छिन् ।
मोरङ-६ मा रुबिना आचार्य रास्वपाबाट उमेदवार छिन् । उनको प्रतिस्पर्धा कांग्रेसका डा.शेखर कोइराला र एमालेका विनोद ढकाललगायतसँग छ ।
सुनसरी-३ मा एमालेकी भगवती चौधरी कांग्रेसमा विजयकुमार गच्छदारलगायतसँग प्रतिस्पर्धामा छिन् । अघिल्लो पटक चौधरी निर्वाचित बनेकी थिइन् । उनी संघीय मन्त्रीसमेत भइसकेकी छिन् ।
कोसीमा अरु को–को छन् महिला उमेदवार ?
झापा-२ मा चन्द्रकुमारी गारु नेपाल मजदुर किसान पार्टीबाट उमेदवार छिन् । सोही क्षेत्रमा अमृता लावती संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उठेकी छन् ।
झापा-३ मा धर्मलक्ष्मी दुवाल (लघु) नेपाल मजदुर किसान पार्टी, सोही क्षेत्रमा चन्द्रकला साँवा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उमेदवार छन् । झापा-३ मै विनिता कुमारी राजवंशीलाई जनता समाजवादी पार्टीले उमेदवार बनाएको छ ।
इलाम-१ मा ज्वाला नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), तुल्सी केशरी प्रजापती (छुंचु), इलाम-२ मा पवित्रा लिम्बू राष्ट्रिय जनमुक्ति पार्टी, झापा-१ मा जनता समाजवादी पार्टी, नेपालबाट रमा मेचे उमेदवार छन् ।
झापा-४ मा तुल्सीलक्ष्मी दुमरु (बाटी) नेपाल मजदुर किसान पार्टी, अमृता देवी राई श्रम संस्कृति पार्टीबाट उमेदवार छन् ।
झापा-५ मा मन्धरा चिमरिया, रञ्जना गौतम, शोभा भण्डारी उमेदवार छन् । संखुवासभामा नेपाली कम्युनिस्ट पार्टीबाट सरिता थापा, श्रम संस्कृति पार्टीबाट उमाकुमारी राई, तेह्रथुममा उषालक्ष्मी तुम्वाहाङ्फे राष्ट्रिय परिवर्तन पार्टीबाट उमेदवार छन् ।
मोरङ-१ मा राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङ, शान्ति पाख्रिन लामा श्रम संस्कृति पार्टी, मोरङ-४ मा नुमा लिम्बू समावेशी सामाजवादी पार्टी, मोरङ-५ बाट आशा झा रास्वपाबाट, मंगोल नेशनल अर्गनाइजेसनले सकुन्तला श्रेष्ठ र सोही क्षेत्रमा ममता यादव स्वतन्त्र उमेदवार छन् ।
मोरङ-६ मा रुबिना आचार्य रास्वपाबाट उमेदवार छिन् । यो क्षेत्रमा सार्वभौम नागरिक पार्टीले प्रिती झालाई उमेदवार बनाएको छ । सुनसरी-१ मा रास्वपाबाट गोमा तामाङ, स्वतन्त्र जीवनकला राई, सुनसरी-२ मा गीतामैया बजिको नेपाल मजदुर किसान पार्टी, तजिता विष्ट प्रगतिशील लोकतान्त्रिक पार्टी, सन्तहिरा राई मंगोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलास लिम्बू, नेकपा (माओवादी) बाट कृष्णकुमारी दनुवार, स्तन्त्र अन्जनादेवी गुप्ता उमेदवार छन् ।
त्यस्तै, सुनसरी-३ मा भगवती चौधरी नेकपा एमाले, प्रकृति बासी नेपाल मजदुर किसान पार्टी, कासनरी थरुनी स्वतन्त्र, कुमारी उराव स्वतन्त्र, सुमन कुमारी चौधरी स्वतन्त्र उमेदवार छन् ।
सुनसरी-४ मा सविता चौधरी जनता समाजवादी पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, पार्वती मुखिया स्वतन्त्र, फुलकुमारी खान स्वतन्त्र, यमुना केसी स्वतन्त्र उमेदवार छन् ।
सोलुखुम्बुमा एमालेले कल्पना राईलाई उमेदवार बनाएको छ । अस्मिता थापालाई ओखलढुंगामा एमालेले उमेदवार बनाएको छ । सोही क्षेत्रमा सविना प्रजापति नेपाल मजदुर किसान पार्टी, किशोरी कार्की उज्यालो नेपाल पार्टी उमेदवार छन् ।बाह्रखरीबाट






