Online Bichar
आइतबार, कार्तिक ०९, २०८३ | Sunday, October 25, 2026

झापा, २० माघ २०८२ । नेपालको पूर्वी नाका काँकरभिट्टासहित समेटिएको झापा क्षेत्र नं १ मा यसपटक सबै दलले नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेका छन् ।

२०६४ सालयताका चुनावमा माओवादी, एमाले र कांग्रेसले पालैपालो जित निकालेका यो क्षेत्र भारतसँग सीमा जोडिएका कारण निकै संवेदनशील मानिन्छ । अझ मेचीपारिको केही नेपाली भूभाग पनि यसै क्षेत्रमा पर्ने भएकाले यहाँका उमेदवारलाई मतदाताको मन जित्न ठूलै कसरत गर्नुपर्ने हुुन्छ ।

२०७४ सालको चुनावमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का सुरेन्द्रकुमार (राम) कार्कीले सानदार जित निकालेको सो क्षेत्र त्यसपछिका हरेक निर्वाचनको मत परिणाम रोमाञ्चक बनेको छ ।

त्यसबेला नेकपा (एमाले) सहितको गठबन्धनबाट कार्की चुनावमा होमिँदा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा उपविजेता बनेका थिए । सो निर्वाचनमा कार्कीले ३६ हजार १७३ मत पाउँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए ।

तर, २०७९ सालको निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका शर्माले एमालेका अग्नि खरेललाई पराजित गरी रोमाञ्चक जित निकाले । सो निर्वाचनमा शर्मा ३९ हजार ६२४ मतका साथ विजयी भए । निकटम प्रतिद्वन्द्वी बनेका एमालेका खरेलले भने २५ हजार ३४९ मतमा चित्त बुझाउनुपर्‍यो । अघिल्ला दुई चुनावमा हार बेहोरेका शर्माले २०७९ सालमा भने मतदाताको अपार माया पाए ।

यो पटक भने शर्माले आफू चुनावी मैदानबाट बाहिरिने घोषणा पहिल्यै गरिसकेका थिए । त्यसैले सो क्षेत्रमा कांग्रेसको टिकटका लागि निकै हानथाप चल्यो । शर्मानजिक मानिएका इन्द्र बुढाथोकीले टिकट पाउने चर्चा चलिरहँदा पार्टीभित्रको समीकरण मिलाउने क्रममा कृष्ण सिटौलानिकट मानिने पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डेले टिकट लिएर चुनावी मैदानमा होमिएका छन् । उनी अघिल्लो निर्वाचनमा शर्माले ल्याएको मत जसरी पनि जोगाउनुपर्ने चुनौतीमा छन् ।

यता, एमालेले सहकारी अभियन्ताको छवि बनाएका पुराना बामपन्थी नेता रामचन्द्र उप्रेतीलाई चुनावी मैदानमा उतारेको छ । मेचीनगर क्षेत्रको स्थानीय भएर पनि सहकारीका माध्यमबाट थुप्रै काम गरेकाले पनि आफूलाई मतदाताले रुचाउने उप्रेतीको दाबी छ ।

नेपाली कम्युनिस्ट पार्टीले भने यसपटक विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता अशेष घिमिरेलाई मैदानमा उतारेको छ । सीमावती क्षेत्रका गरिब नागरिकलाई लक्षित गर्दै ‘गरिब हुनु अपराध होइन’ भन्ने नारा अघि सारेर मैदानमा उत्रेका घिमिरे आफू भुइँमान्छेहरूको समर्थनमा जित निकाल्ने बताउँछन् ।

त्यस्तै, झापा–२ को टिकटका लागि लामो समय पाटीभित्र लविङ गरेकी पूर्वसमानुपातिक सांसद निशा डाँगीलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले झापा–१ मा उमेदवार बनाएको छ । क्षेत्र नम्बर ३ मा पर्ने भद्रपुरकी बासिन्दा डाँगी लामो समय राजधानी केन्द्रित थिइन् । तर, झापाली जनताले आफूलाई माया गर्नेमा उनी पनि ढुक्क छिन् ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार हेमराज कार्की पनि आफूले लामो समय प्राध्यापक पेसामा बिताएकाले बौद्धिक मतदाताको रोजाइमा पर्ने विश्वासमा छन् । लामो समयदेखि सुकुम्बासी समस्या र जंगली हात्तीको आतंक सहँदै आएको झापा–१ मा मेचीनगर नगरपालिका र वुद्धशान्ति गाउँपालिकाका साथै भद्रपुर नगरपालिकाका ९ र १० वडा समेटिएका छन् ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया