Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

मुम्बई, १७ पुस २०८२ । बलिउड अभिनेता अक्षय खन्ना पछिल्लो समय विवादको घेरामा परेका छन्। ‘दृश्यम–३’ बाट बाहिरिएसँगै उनीमाथि विभिन्न गम्भीर आरोप लागिरहेका बेला फिल्म ‘सेक्सन ३७५’ का निर्देशक मनिष गुप्ताले उनलाई लिएर सनसनीपूर्ण खुलासा गरेका छन्।

मनिषले सन् २०१७ को एउटा घटना स्मरण गर्दै अक्षयले व्यावसायिक मर्यादा उल्लंघन गरेको र आफ्नो मेहनतमाथि कब्जा जमाएको आरोप लगाएका हुन् । निर्देशक गुप्ताका अनुसार अक्षयले २ करोड भारु पारिश्रमिक लिने गरी फिल्म साइन गरेका थिए र २१ लाख एड्भान्स समेत बुझिसकेका थिए।

तर, उनले अचानक फिल्मको सेड्युल अर्को फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ का लागि दिएर लन्डन उडेपछि फिल्मको टिम ६ महिनासम्म कामविहीन भएर बस्नुपरेको थियो । मनिषले बलिउड हङ्गामासँगको कुराकानीमा बताए अनुसार, लन्डनबाट फर्केपछि अक्षयले पुरानो सम्झौता लत्याउँदै एकाएक ३२।५ करोड भारु माग गर्न थालेका थिए।
यति मात्र नभई, अक्षयले फिल्मको हरेक कुरामा आफ्नो नियन्त्रण हुनुपर्ने अडान राखेको र निर्देशकको निर्देशन मान्न आफ्नो ईगोले नदिएको मनिषको दाबी छ । जब मनिषले अक्षयको मनपरीको विरोध गरे, अभिनेताले निर्माता कुमार मंगतलाई दबाब दिएर निर्देशक नै परिवर्तन गर्न लगाए।

मनिषका अनुसार निर्माताले उल्टै उनलाई फिल्मबाट निकालेर तीन वर्ष लगाएर तयार पारेको स्क्रिप्ट र प्रि९प्रोडक्सनका सामग्री भएको हार्ड ड्राइभ समेत जफत गरेका थिए। अक्षयले निर्मातालाई दुईवटा कानुनी नोटिस पठाएर अदालत तान्ने धम्की दिएपछि पछि कोर्टबाहिर सम्झौता गरिएको थियो। स्मरण रहोस्, ‘सेक्सन ३७५’ सन् २०१९ मा रिलिज भएको थियो, जसमा अक्षय खन्ना र ऋचा चड्डाको मुख्य भूमिका थियो।

 

तपाईको प्रतिक्रिया