Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, २९ मंसिर २०८२ । झन्डै १२ सय नेपाली १८ देशका जेल तथा डिटेन्सन सेन्टर (हिरासत केन्द्र) हरूमा कैदी/बन्दी भएको विवरणले देखाएको छ ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासमार्फत संकलन गरेको विवरण अनुसार, हाल विदेशका जेल तथा हिरासत केन्द्रहरूमा एक हजार १७१ जना नेपाली छन् । यो विवरण सन् २०२५ मे महिनासम्मको हो ।

यसरी विदेशमा कैदीरबन्दी बनेका नेपाली अधिकांश ती देशमा वैदेशिक रोजगारीका सिलसिलामा पुगेका थिए ।

“विदेशी जेल तथा हिरासत केन्द्रमा रहेका नेपालीको सबैभन्दा ठूलो संख्या वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मानिएका खाडी राष्ट्र र मेलेसियामा छन् । अझै सबैभन्दा ठूलो संख्या साउदी अरब र युनाइटेड अरब इमिरेट्स (यूएई) मा देखिन्छ,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘नेपाल लेवर माइग्रेसन रिपोर्ट, २०२४’ मा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार धेरैजसो नेपाली सम्बन्धित देशको कानुन उलङ्घनका कारण जेल पर्ने गरेका छन् ।

“सम्बन्धित देशको कानुन उलङ्घन गर्दा वा थाहा नहुँदा धेरै नेपाली जेल परेको देखिन्छ । विशेषगरी अध्यागमनसम्बन्धी कानुनको उलङ्घन धेरै गरेको पाइन्छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले भने ।

परराष्ट्रको तथ्याङ्क अनुसार, सबैभन्दा बढी नेपाली क्रमसः साउदी अरेबिया, यूएई, मलेसिया, कतार, कुवेत, ओमान, टर्की, चीन, बहराइन, साइप्रस, हङकङ, क्रोएसिया, मोजाम्बिक, म्यानमार, अष्ट्रिया, इराक, मौरिसस र दक्षिण अफ्रकाका जेल तथा हिरासत केन्द्रमा रहेका छन् ।

“गम्भीर अपराधमा दोषी संलग्न वा दोषी ठहर भई जेलमा पर्ने नेपालीको संख्या निकै सानो छ । धेरैजसो ओभरस्टे (भिसा समयभन्दा बढी बस्ने), एउटा भिसामा जाने अर्को काम गर्नेहरू छन्,” प्रवक्ता क्षेत्रीले भने ।

प्राप्त विवरणअनुसार साउदी अरेबियाको जेल तथा हिरासत केन्द्रमा पाँच सय ४७ जना नेपाली छन् । यूएईको जेल तथा हिरासत केन्द्रमा रहेका नेपालीको संख्या २४२ छ । मलेसियाको जेल तथा हिरासत केन्द्रमा १८५ जना नेपाली छन् ।

यस्तै, कुेवतमा ५१, ओमानमा २५, टर्कीमा २०, चीनमा १४, बहराइनमा ९, साइप्रसमा ४, हङकङमा ३, क्रोएसियामा २, मोजाम्बिकमा २, म्यानमारमा २ र अष्ट्रिया, इराक, मौरिसस र दक्षिण अफ्रिकामा एक–एक जना नेपाली जेल तथा हिरासत केन्द्रमा छन् ।

“हुन त, वैदेशिक रोजगारीमा जानुअघि सचेतना कार्यक्रममा सहभागी गराइन्छ । तर यो तथ्याङ्कले अझै सचेतना फैलाउन नपुगेको देखिन्छ । वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित देश र त्यहाँको कानुनबारे अझ बढी प्रभावकारी ढंगले जानकारी दिनुपर्ने देखिन्छ,” प्रवक्ता क्षेत्रीले भने ।

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वर्षेनी बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनसार, आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना, २०७९/८० मा ७ लाख ७१ हजार ३२७ जना, २०८०/८१ मा ७ लाख ४१ हजार २९७ जना र २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै त्यहाँ जेल पर्ने नेपालीको सख्ंया पनि बढ्दै गएको छ । “वैदैशिक रोजगारीमा जानेहरूलाई सचेतना बढाउँदै लग्नुपर्छ र यसमा मन्त्रालयहरूको समन्वय पनि बढाउँदै जानुपर्छ,” उनले भने ।

नेपालका जेलमा कति छन् विदेशी ?

विदेशका जेलमा नेपाली रहेजस्तै नेपालका जेलमा पनि ठूलो संख्यामा विदेशी छन् । गृह मन्त्रालयअन्तर्गतको कारागार विभागको तथ्याङ्कअनुसार, २०८२ साउन महिनासम्म नेपालका कारागारहरूमा ३० देशका एक हजार ५७९ जना विदेशी कैदीबन्दी थिए ।

तर, २०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि देशका २८ वटा कारागारबाट ठूलो संख्यामा कैदीरबन्दी भागेका थिए । यसरी भाग्नेमा ठूलो संख्यामा विदेशी कैदीरबन्दी पनि छन् ।

विभागका अनुसार, हाल देशका कारागारमा एक हजार दुई जना विदेशी कैदीरबन्दी छन् । जेनजी प्रदर्शनको समयमा भागेकामध्ये ५१७ जना भारतीय र अन्य देशका ९४ गरी कुल ६११ जना विदेशी कैदीरबन्दी अझै कारागारमा फर्केका छैनन् ।

जेनजी प्रदर्शनमा भागेका कुल १४ हजार ५५४ कैदीबन्दीमध्ये ६११ जना विदेशी र ३ हजार ८९४ जना नेपाली गरी ४ हजार ५०५ जना कैदीरबन्दी अझै कारागार फर्केका छैनन् ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया