Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

झापा, २० मंसिर २०८२ । क्षितिज नाट्य प्रतिष्ठानद्वारा निर्मित झापा नाटक घरमा करिब तीन महिनादेखि निरन्तर मञ्चन भइरहेको कालजयी नाटक ‘मुना मदन’ अब समापनको चरणमा पुगेको छ ।

गत जेठ ५ गतेदेखि मञ्चन थालिएको नाटकले २३ कात्तिकमा सिजन वान सम्पन्न गरि दर्शकको अत्यधिक मागका कारण पुनः २३ कात्तिकबाट निरन्तर रूपमा प्रस्तुत हुँदै आएको थियो । भोलि मंसिर २१ गते विधिवत रुपमा नाटक समापन हुन लागेको नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घरका निर्माण परिकल्पनाकार माधब कल्पितले बताए।

झापा नाटक घरका निर्माण परिकल्पनाकार कल्पितको परिकल्पना, गजेन्द्र खतिवडाको नाट्य रूपान्तरण र निर्देशनमा तयार भएको यो नाटक दर्शकमाझ अत्यधिक सफल हुँदै आएको नाट्य प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नाटकका व्यवस्थापक राजकुमार भट्टराईले जानकारी दिएका छन्। नाटकमा गजेन्द्र खतिवडा, राजकुमार भट्टराई, निर्मला भण्डारी, विवेक मिश्र, सन्तोष तामाङ वाङ्वो, दिपा शिवाकोटी, प्रज्ज्वल भट्टराई, पारस तामाङ, राकेश दर्नाल, सम्पदा राई, पुर्णिमा निर्दोष, आर्जु पौड्याल र आयुष सुजिको जीवन्त अभिनय रहेको छ।

त्यस्तै नाट्य प्रतिष्ठानकी उपाध्यक्ष सुजना खतिवडा, हरिप्रसाद भण्डारी, श्रृष्टि आचार्य र समिक्षा खतिवडाले विशेष भूमिका निर्वाह गरेका छन्। लक्ष्मीप्रसाद देवकोटाद्वारा सिर्जित कालजयी कृति ‘मुना मदन’ मा चित्रित दुःख, बियोग र सामाजिक यथार्थ आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको र विदेशिन बाध्य युवाहरूको पीडा यसले अत्यन्त प्रभावकारी ढंगले प्रस्तुत गरेको नाटक अवलोकनपछि विवेकाश्रमका अध्यक्ष व्यासाचार्य किशोर गौतमले बताएका छन्।

करिब ९० दिन चलेको यो मञ्चन अवधिमा झापाका ९० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले नाटक घरमै उपस्थित भई नाटक अवलोकन गर्ने अवसर पाएका थिए। तीन महिनाको सफल यात्रापछि मंसिर २१ गते ‘मुना मदन’ नाटकको विधिवत समापन गर्न लागिएको परिकल्पनाकार कल्पितले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया