काठ्माडौ, ४ मंसिर २०८२ । मिथिलाञ्चलमा विवाह पञ्चमी महोत्सव सुरु भएको छ । बिहीबार देखि महोत्सव सुरु भएको हो ।
जनकपुरधाम क्षेत्रमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको चहलपहल देखिएको थियो । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि सम्पन्न भएको छ । नगरदर्शनलाई लिएर जानकी मन्दिरमा पूजा अराधनाका लागि श्रद्धालु भक्तजनहरू पुगेका थिए ।
भगवान राम र लक्ष्मण पहिलोपटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन विधि गर्ने गरिन्छ ।
नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रूपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो । सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो ।
नगर दर्शन विधिका लागि जनकपुरधामस्थित जानकी मन्दिरकै प्राङ्गणमा कृत्रिम बजार बनाइएको थियो । सो बजारमा मुरही, कचरी, चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली आदिका पसलहरू कृत्रिम रूपमा निर्माण गरिएका थिए ।
राम(लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो । न्युज एजेन्सी नेपाल






